रत्ननगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताएका छन् ।
चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उनले नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमा रकम फरक/फरक भएकामा अब भने बराबरी हुनेगरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिए ।
उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले रु ३० लाख र विदेशीले रु एक करोड ५० लाख पाउँदै आएका थिए ।
नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब युरोपेली सङ्घले अझै हटाउन बाँकी रहेकाले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिए ।
उनले नेपालमा जहाजको मार्गसमेत बढाएर आठ स्थानमा पुर्याइएको समेत जानकारी दिए । अर्को २० दिनपछि नेपालमा अर्को जहाज आउनेछ भन्दै उनले नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रमसमेत तीव्र पारिएको जिकिर गरेका थिए ।
नेपालमा एक करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाइ छ । आगामी एक वर्षमा लुम्बिनी, तीन वर्षमा पोखरा र पाँच वर्षमा निजगढ विमानस्थल बन्ने जिकिर मन्त्री अधिकारीले गरे ।
नेपालको सिमीकोट, पोखरा, काठमाडौं र भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको उनले जानकारी दिए । भरतपुर विमानस्थलमा अग्ला घर भएकाले केही समस्या छ भन्दै नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट एक दिनको लागि मात्रै भएकाले त्यसलाई तीन दिनसम्म पुर्याउनुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको बताउँदै उनले सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिइसकेकाले काम गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मन्त्री अधिकारीले चितवनको सौराहा बसपार्क निर्माणका लागि कम्तीमा रु ५० लाख संघीय सरकारबाट सहयोग हुने घोषणा गरे ।
‘पोखरा, सौराहा जोडियो, अब पोखरा, लुम्बिनी र सौराहा जोड्नुपर्छ’, मन्त्री अधिकारीको भनाइ छ । नारायणी र कोशीमा पानी जहाज सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिँदै उनले नारायणीमा जहाज शुरु भएपछि नदी किनार अर्को आकर्षक पर्यटकीय गन्तव्य हुने उल्लेख गरेका थिए ।
यसअघि काठमाडौं पोखरा सेवा दिँदै आएको कम्पनीले आगामी भदौ १ गतेदेखि पोखरा–लुम्बिनीसमेत बससेवा शुरु गरिने उनले बताए ।

