काठमाडौं । सरकारले गाडीको एलसी नखोल्ने संकेत गरेसँगै गाडी विक्रेताहरु तनावमा परेका छन् । विशेषत पेट्रोलिय पदार्थबाट चल्ने गाडी बैशाख १४ गतेदेखि असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाइएको थियो ।
आयात रोकिएका बस्तुको कारण तात्विक फरक नआएसँगै सरकारले करिब ३०० बस्तुमा गरेको आयात कडाईलाई निरन्तरता दिने संकेत गरेसँगै नाडाका अध्यक्ष ध्रुब थापाले आफ्नो सक्रियता बढाएका हुन् । दुई दिनअघि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेका अध्यक्ष थापाले आफ्नो टीमसहित आज बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
भेटमा प्रधानमन्त्रीलाई अटोमोवाइल क्षेत्रले राजस्वमा गरेको योगदान, आगामी नाडा अटो शो २०२२ र आयातको अवस्था बारे आफुहरुले जानकारी गराएको थापाले मेरोअटोलाई बताए ।
‘हामीले आयातको अवस्था, हाम्रो लगानी, रोजगारी र अहिलेको बजार मागको विषयमा प्रधानमन्त्री ज्यूलाई जानकारी गराएका छौं । उहाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरेर उचित निर्णय आउने बताउनु भयो’, नाडा अध्यक्ष थापाले भने ।
थापाका अनुसार प्रधानमन्त्री देउवाले नेपालमा नै विद्युतीय सवारी साधन एसेम्बल गर्नेतर्फ लाग्न नाडाको टीमलाई आग्रह गरेका थिए । यसरी नेपालमै एसेम्वलमा लाग्ने उद्योगलाई विशेष सहयो गर्न सकिने प्रधानमन्त्री देउवाको भनाई थियो ।
विक्रेता तनावमा
अहिले दुई दर्जनभन्दा बढी ब्राण्डका चारपाङ्ग्रे सवारीसाधन नेपालमा विक्री हुँदै आएको छ । नाडा अटो शो २०२२ मा भाग लिन स्टल बुकिङ गरेका ब्राण्डको संख्या नै २५ रहेको छ । त्यसैले साउन १ गतेबाट एलसी नखुल्ने हो भने अटोमा कसरी भाग लिनेभन्ने दुविधामा कम्पनीहरु परेका छन् ।
धेरैजसो ब्राण्डले नयाँ मोडलसहित नाडामा स्टल राख्ने र त्यहिबाट आफ्नो गाडीलाई ब्राण्डिङ गर्ने तयारी गरेका थिए । तर, ती सबै योजना एलसी नखुल्ने हो भने पुरा हुने छैनन् ।

