होन्डाको धक्का बुलेटलाई, मूल्य घटेसँगै गर्ला ‘बाउन्स ब्याक’

काठमाडौं । बुलेटको नामले एक छत्र राज गरेको मोटरसाइकल ब्राण्ड रोयल इनफिल्ड नेपालमा निकै सफल रहेको छ । सबैले बुलेट भनेर चिन्ने रोयल इन्फिल्ड बुलेटलाई बाइकको राजा नै मानिन्थो । बुलेट मोटरसाइकललाई त गीतमा पनि बयान गरिएको छ, ‘मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छी, पछाडि बसेर बुलेट बाइकमा’ ।

२०१८/२०१९ सम्म नेपाली बजारमा रोयल इनफिल्ड मोटरसाइकल बार्षिक ३ देखि ४ हजार यूनिटसम्म विक्री हुने गरेको थियो । त्यो समयमा रोयल इनफिल्डलाई महंगो मोटरसाइकल मानिन्थ्यो । सिमित मानिसले मात्र यसलाई चढ्ने गर्थे ।

विस्तारै बजारले क्रुजर मोटरसाइकल रुचाउन थालेसँगै यो सेग्मेन्टमा आउने मोटरसाइकलको माग बढ्न थाल्यो । सन् २०२०/२०२१ मा रोलय इनफिल्डका उत्पादन दोब्बरले विक्री बढ्यो । सन् २०२०/२१ मा नै त्यही सेग्मेन्टमा जावा र होन्डाको सिबी ३५० सिरिज नेपाल आएको हो ।

विक्रीमा उछालका बाबजुद रोयल इनफिल्ड इन्डियाले नेपालमा आफ्नो आधिकारीक वितरक परिर्वतन गर्यो । धेरैले यसलाई आश्चर्यको रुपमा ब्याख्या गर्दै आएका छन् । रोयल इनफिल्ड इन्डियाले दुगड ग्रुपलाई आफ्नो डिलरबाट हटाएर त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभ्स्लाई आधिकारीक डिलर नियुक्त गरेको हो । दुगडले राम्रो संख्यामा मोटरसाइकल विक्री गरिरहेकै अवस्थामा डिलर परिवर्तन भएको थियो ।

अल्फा अटोमोटिभ्स्ले विक्री सुरु गर्नु अघि नै सरकारले २०० सीसीभन्दा माथिका मोटरसाइकललाई निरुत्साहन गर्ने नीति लिएर करका दरमा परिवर्तन गरेको थियो । जसको कारण अल्फा अटोमोटिभ्स्ले एउटै मोटरसाइकलमा २ लाख रुपैयाँसम्म मूल्य वृद्धि गर्यो । यसको प्रत्यक्ष फाइदा होन्डाले लिएको देखिन्छ ।

सरकारले कर बढाए पश्चात् रोयल इनफिल्डले २ लाखसम्म मूल्य वृद्धि गर्दा होन्डाले सीबी ३५० मा १ लाख मात्रै मूल्य बढाएको थियो । एक लाख कम मूल्य बढाइएको कारण होन्डा सिबी सिरिजलाई फाइदा भएको हो । पछिल्लो समय होन्डा हाइनेस ३५० र होन्डा आरएस ३५० को विक्री व्यापक वृद्धि भएको देखिन्छ ।

रोयल इनफिल्डले गरेको मूल्य वृद्धिका कारण क्लासीक ३५० को मूल्य ७ लाख पुगेको थियो भने हाइनेसको मूल्य वृद्धि पश्चात ८ लाख ४९ हजार रुपैयाँ पुगको थियो ।

केही बढि मूल्य भएपनि होन्डातर्फ ग्राहकको आकर्षण देखेको अल्फा अटोमोटिभ्स्ले मूल्य वृद्धिका कारण बजार खस्कने देखेर क्लासिक २५० को मूल्य ६ लाख ५० हजार रुपैयाँमा झारेको छ । अब मूल्य घटाएपछि ‘बाउन्स ब्याक’ हुन्छ वा हुन्न त्यो हेर्न भने केही दिन कुर्नै पर्छ ।

यस्तो छ दुईमा फरक

यो सेग्मेन्टका दुई प्रतिस्पर्धी होन्डा सीबी हाइनेस र रोयल इनफिल्ड क्लासीक ३५० बीच रहेको तुलनात्मक भिन्नता यहाँ केलाउने प्रयास गरेका छौं ।

इन्जिनको कुरागर्दा यी दुबै मोटरसाइकलमा समान इन्जिन दिइएको छ । होन्डाले हाइनेस ३५० मा ३४८ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, ओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क प्रदान गर्छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० मा ३४६ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । धेरै ग्राहकको रोजाईमा पर्दै आएको क्लासिक ३५० मा पनि सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन नै दिइएको छ । उत्तः इन्जिनले अधिकतम १९ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्छ । दुबै मोटरसाइकलमा समान ५ स्पीड गियरबक्स दिइएको छ ।
यी दुई बीचको तुलनामा होन्डा हाइनेस सिबी ३५० मा केही बढी पावर र टर्क प्रदान गर्ने इन्जिन रहेको छ ।

कम माइलेज दिने भएकाले यी मोटरसाइकलमा प्रदान गरिएको फ्यूल ट्याङ्कीको पनि निकै महत्व हुन्छ । रोयल इन्फिल्ड क्लासिकमा १३.५ लिटर क्षमता र होन्डा हाइनेसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

मोटरसाइकलमा रहने अर्को महत्वपूर्ण फिचर सस्पेन्शन हो । दुबै मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क सस्पेन्शन दिइएको छ भने पछाडि होन्डाले ट्वीन रियर शक र रोयल इन्फिल्डले ट्वीन ग्यास शक चार्ज्ड प्रिलोडेड सस्पेन्शन दिएको छ ।

सवारी साधनको महत्वपूर्ण सुरक्षा फिचर भनेकै ब्रेकिङ सिस्टम हो । दुबै मोटरसाइकलमा ट्वीन डिस्क दिइएको छ । तर, होन्डाले आफ्नो मोटरसाइकलमा केही ठूलो डिस्क ब्रेक दिएको छ । होन्डा हाइनेसमा अगाडि ३१० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा कम्पनीले डबल च्यानल एबीएस दिएको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० को अगाडि २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ । यसमा कम्पनीले सिंगल च्यानल एबीएस दिएको छ ।


Back_to_top