सन् २०२२ भर नेपालमा चर्चा कमाउन सफल ४ ईभी

काठमाडौं । सन् २०२२ मा नेपाली अटो क्षेत्र निकै कठिन र चुनौतीपूर्ण अवस्थाबाट गुज्रियो । मुख्यतया सरकारले आयातमा प्रतिबन्ध लगाउँदा र बजारमा लगानी योग्य रकम अभाव हुँदा यो वर्ष करिब ८ हजार २०० यूनिट गाडी मात्रै आयात भयो ।

२०२२ को नोभेम्बरसम्म पेट्रोलियम पदार्थबाट चल्ने ५ हजार ९०० र इलेक्ट्रीकबाट चल्ने २ हजार ४५ यूनिट कार मात्रै आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ । डिसेम्बर महिनामा पनि नगन्य संख्यामा गाडी आयात हुने भएको कारण ८ हजार २०० यूनिट हाराहारी आयात हुने देखिएको हो ।

सन् २०२१ मा करिब २२ हजार यूनिट कार आयात भएको थियो । कोभिड १९ पछि अर्थतन्त्र चलायमान हुँदा कारको आयात पनि अहिलेसम्मकै धेरै भएको थियो । तर, सन् २०२२ मा आयात ६२ प्रतिशतभन्दा धेरैले घटेर ८ हजार २०० हाराहारीमा खुम्चिएको हो । त्यसैले सन् २०२२ भरी नेपालमा ईभीको चर्चा नै सबैभन्दा बढी भएको थियो ।

न्यून आयातका बाबजूद सन् २०२२ मा नेपाल आएका केही नयाँ मोडलले राम्रो छाप छोड्न सफल भएका छन् । त्यसमध्ये सन् २०२१ मा नेपाल आएर पनि सप्लाइ राम्रो नपाएको टाटा नेक्सन ईभी चालु वर्षमा सबैभन्दा धेरै चर्चामा रहेको मोडल बन्यो । करिब १ हजार २०० यूनिट नेक्सन ईभी २०२२ मा विक्री भएको देखिन्छ ।

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको सहारामा टाटालाई प्यासेन्जर कार सेग्मेन्टमा अग्रणी कम्पनी बनाउन सफल भयो । बढ्दो पेट्रोलियम पदार्थको मूल्य र कम्बस्चन इन्जिन भएका कारमा लगाइएको प्रतिबन्धको कारण नेक्सनलाई टक्कर दिन आउने कुनै पनि मोडल भएनन् । परिणामत नेक्सन ईभी सन् २०२२ कै सर्वाधिक चर्चा कमाउन सफल मोडल भयो ।

त्यसैगरी, नेटा भी अर्को सफल र चर्चित मोडल बन्न पुग्यो । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाल ल्याएको नेटा भी चिनियाँ स्टार्टअप कम्पनी होजोन मोटर्सले उत्पादन गरेको हो । मिनी टेस्ला डिजाइन र इन्टेरियरमा पनि टेस्ला मोडल थ्रीबाट प्रेरित रहेको कारण यसलाई धेरै मानिसले मनपराए ।

सुरूमा नेपाल आउँदा नै मूल्यको विषयमा भएको चर्चाले नेटा भीलाई स्थापित हुन निकै सहयोग पुग्यो । साथै, ३८ किलोवाटको ब्याट्री र ३५० किलोमिटर हाराहारी रेन्जको कारण पनि यसलाई धेरैले मन पराएका हुन् । मूल्यका हिसाबले ३८ लाख रुपैयाँ आउने नेटा भी भ्यालु फर मनी क्रसओभर कारको रूपमा धेरैले लिएका छन् ।

सन् २०२२ मा नेपाल आएको अर्को चर्चित मोडल हुन्डाई आयोनिक ५ हो । फ्यूचरस्टिक डिजाइन, आधुनिक फिचर र ३५० किलोमिटर हाराहारीको रेन्जको कारण यसले वर्षभर चर्चा पायो । तर, सरकारले मे महिनामा ल्याएको बजेट मार्फत करका दर वृद्धि गर्दा त्यसको सिधा असर आयोनिक ५ लाई पर्यो । सरकारले कर बढाउनु अघि ८१ लाख रुपैयाँ मूल्य रहेको आयोनिक ५ अहिले १ करोड १७ लाख भएको छ ।

बीवाइडी एटो ३ पनि वर्षभर चर्चामा रहेको मोडल हो । तर, अक्टोबर अन्तिममा नेपाल आएको यो मोडल अहिले पनि सप्लाइको समस्या खेपिरहेको छ । बजेटअघि नै नेपाल ल्याउने तयारी भएपनि दशैंपछि मात्रै एटो ३ नेपाल आएको थियो । विक्रीमा संख्या अहिल्यै पाउन नसके पनि एटो ३ ले चर्चा भने राम्रो पाउन सफल भएको छ । यसको मूल्य ८९ लाख ९० हजार तोकेर विक्री सुरू भएको छ ।


Back_to_top