सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनमा ल्याउने तयारी सुरु

काठमाडौं । आगामी असोज ३ गतेदेखि सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन सुरु गरिएको छ ।

काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा संचालनका लागि सडकमा ‘रेड मार्क’ गर्न थालेको डिभिजन प्रमुख नारायण निहुँरेले बताए ।

३ दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन बनाइ सक्ने गरी काम थालिएको सडक विभागले जनाएको छ । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क थालेको छ । रत्नपार्कदेखि जडिबुटीसम्म र जडिबुटीदेखि सूर्यविनायक खण्डमा एकैपटक काम थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा संचालन गर्न निर्देशन दिएका थिए। त्यसपछि सडक विभाग र यातायात व्यवस्था विभागले कामलाई तीव्रता दिएका थिए ।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बसहरु तयारी अवस्थामा रहेको जनाएको छ । व्यवसायीसँग सहकार्य गरी उनीहरुकै बस सञ्चालन गर्न लागिएको हो । करिब ३८ सिट क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन् ।

अहिले बिहान र साँझ कार्यालयमा बस सेवा सञ्चालन हुने भएको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन् ।


Back_to_top