राजमार्गका ११ रणानीतिक क्षेत्रमा तौलपुल राख्ने तयारी

काठमाडौं । सरकारले देशका मुख्य राजमार्गका विभिन्न ११ रणानीतिक क्षेत्रमा तौलपुल निर्माण गर्ने तयारी थालेको छ ।

विकास मन्त्रालयले १०० दिनको उपलब्धि सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार राजमार्गका ११ वटा रणनीतिक क्षेत्रमा तौलपुल स्थापना गर्न स्थान पहिचान गरी प्राविधिक तयारी समेत थालिसकिएको छ ।

त्यस्तै, मन्त्रालयले यस अवधिमा बर्दिबास र चितवनमा रहेका तौलपुलको मर्मत तथा क्यालिब्रेसन गरी संचालनमा ल्याइएको जनाएको छ ।

निजी क्षेत्रबाट विभिन्न स्थानमा संचालित १६ वटा तौलपुलको समेत यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबाट अनुगमन भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले संघ र प्रदेशको क्षेत्राधिकार अनुसार तौलपुल स्थापना तथा व्यवस्थापनका लागि तहगत समन्वय र पत्राचार गरिएको जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा चार रणनीतिक क्षेत्रमा तौलपुल निर्माण गर्न ४ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

तौलपुल भनेको ट्रक, बस, टिपर, ट्याङ्कर लगायतका ठूला सवारीसाधनको कुल तौल मापन गर्ने ठूलो इलेक्ट्रोनिक वा मेकानिकल उपकरण हो। यसलाई सडक, उद्योग, गोदाम, भन्सार, खानी क्षेत्र, चेकपोस्ट लगायतमा प्रयोग गरिन्छ।


Back_to_top