भारतमा डोमिनारको मूल्य एकै वर्षमा ३ पटक बढ्यो, नेपालमा कस्तो असर ?

बजाज अटोले उत्पादन गरेको डोमिनार मोटरसाइकलको मूल्य एकै वर्ष तेस्रो पटक वृद्धि भएको छ । 

कम्पनीले जुलाई १, २०१८ देखि लागु हुने गरि डोमिनारको मूल्य २ हजार भारुले वृद्धि गरेको हो । २०१८ को सुरुदेखि हालसम्म कम्पनीले डोमिनारको मूल्य ६ हजार भारु वृद्धि गरि सकेको छ । 

अब बजाज डोमिनारको सुरुवाती मूल्य एक्स-सोरुममा १ लाख ४८ हजार भारु पर्ने छ । त्यस्तै एबीएस भर्सनको मूल्य १ लाख ६२ हजार भारु पुगेको छ । भारतीय बजारमा बजाज डोमिनारले महिन्द्राको मोजो र रोयल इनफिल्डको थन्डरबर्ड ३५० सँग प्रतिस्पर्धा भइरहेको छ । 

२०१८ को जनवरीमा डोमिनारको मूल्य १ लाख ४२ हजार भारु थियो, मार्चमा बढेर १ लाख ४४ हजार भारु पुग्यो । त्यस्तै कम्पनीले मे महिनामा पुनः मूल्य बढाएर १ लाख ४६ हजार भारु पुर्यायो ।

बजाजले २०१६ को डिसेम्बरमा डोमिनार मोटरसाइकल सार्वजनिक गरेको थियो । उक्त समयमा नन एबीएसको मूल्य १ लाख ३६ हजार भारु तोकिएको थियो । सार्वजनिक भएयता डोमिनारको मूल्य १२ हजार भारुले वृद्धि भएको छ । 

बजाजले जुलाई महिनामा बिक्री हुने सबै मोटरसाइकलमा ५ वर्ष वारेन्टी दिने घोषणा गरेको छ । कम्पनीका अनुसार डोमिनार खरिद गर्ने ८० प्रतिशत उपभोक्ताको रोजाई एबीएस भर्सन नै रहेको छ ।

नेपाली बजारमा कस्तो प्रभाव

भारतीय बजारमा भएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पर्ने छैन । यसैपनि नेपाली बजारमा बजेपछि वृद्धि हुने मूल्य अनुसार ५ लाख ९९ हजार ९०० पर्ने मूल्यसूची कम्पनीले प्रकाशित गरिसकेको छ । तर, कम्पनीले बजेट अगाडिको स्टकमा रहेको डोमिनार ४ लाख ६९ हजार ९०० रुपैयाँमा बिक्री वितरण गरिरहेको जनाएको छ ।


Back_to_top