काठमाडौं । उपत्यकमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । निजी पम्पहरुमा तेल नपुग्दा सरकारी पम्पहरुमा लामो लाइन लागेको हो ।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरुले आन्दोलन घोषणा गर्दा निजी पम्पहरुमा पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । ट्यांकर चालक संघले आइतवारदेखि आन्दोलन घोषणा गरेर ढुवानी ठप्प पारेका हुन् ।

पेट्रोलियम पदार्थ पम्पसम्म नपुग्दा निजी पम्पहरु बन्द भएका हुन् । सरकारी पम्पहरुले आफ्नै साधन र चालक प्रयोग गरेर ढुवानी गर्ने भएको कारण प्रहरी, सेना, शसस्त्र र साझा पम्पहरुमा लामो लाइन लागेको हो ।
अहिले नेपाल आयल निगमले ट्यांकर चालकहरुलाई समस्या समाधान गर्न भन्दै वार्तामा बोलाएको जनाएको छ । चालकहरुले भने ७ वुँदे माग राखेर आन्दोलन गरिरहेका छन् । उनिहरुको माग नेपाल सरकारले तोकेअनुसारको तलव भत्ता पाउनु पर्ने र श्रम ऐनअनुसार नियुक्तिपत्र दिनु पर्ने भन्नेछ ।
साथै, स्वरोजगारलाई लागु हुँदै आएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज हुनुपर्ने, जोखिम भत्ता पाउनु पर्ने, सुरक्षा कोषमा आवद्ध गर्नु पर्ने लगायतका माग राखेका छन् ।



