प्रोटोन इमास फाइभको बुकिङ खुल्यो

काठमाडौं । मलेसियन ब्राण्ड प्रोटोनको नयाँ कम्प्याक्ट इलेक्ट्रीक एसयूभी इमास फाइभको नेपालमा बुकिङ खुलेको छ ।

नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो सामाजिक संजालमा पोस्ट गर्दै इमास फाइभको बुकिङ खुलाएको जानकारी गराएको हो ।

चाँडै बिक्री थाल्ने तयारी गरिरहेको इमास फाइभ विशेष मूल्यमा पाउन ग्राहकले अहिल्यै बुकिङ गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनी स्रोतका अनुसार इमास फाइभ केही दिन भित्रै बिक्री सुरू हुनेछ ।कम्पनीले इमास फाइभको मूल्य बारे केही जानकारी दिएको छैन । तर, ३० देखि ३५ लाख रुपैयाँ हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

स्रोतका अनुसार प्रोटोनले इमास फाइभ ५८ किलोवाट र ८५ किलोवाटको दुई मोटर अप्सनमा नेपाल आएको हो ।

इमास फाइभमा ३०.१२ किलोवाट आवर र ४०.१६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २२५ किमी र ३२५ किमी रेन्ज दिन्छ ।

इमास फाइभलाई ३.३ किलोवाटको एसी र ८० किलोवाटसम्मको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । डीसी चार्जरको प्रयोगबाट २१ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेर इमास फाइभ बनाइएको हो । इमास फाइभको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ । यसमा २६५० एमएम लामो ह्वीलबेस छ ।

यसको इन्टेरियर निकै आकर्षक छ । यसमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, भेरियन्ट अनुसार १०.१ र १४.६ इन्चको स्क्रीन उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ कलर मध्ये छान्न सकिने एम्बियन्ट लाइट, किलेस इन्ट्री पाउन सकिन्छ ।

यसमा सुरक्षाको लागि ६ एयरब्याग, विभिन्न सुविधासहितको एडास फिचर, ३६० क्यामेरा लगायतका फिचरहरू उपलब्ध छन् ।


Back_to_top