पल्सर २२० एफको मूल्य २७ हजारसम्मले बढ्ने

काठमाडौं । बजाजको पल्सर सिरिजमा सर्वाधिक सफल मोडल पल्सर २२० एफको मूल्य २५ देखि २७ हजारसम्मले बढ्ने देखिएको छ । कम्पनीले यसको आधिकारीक पुष्टि नगरेपनि बजेटले बढाएको करको आधारमा मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।

बजाजले नेपालमा नै मोटरसाइकल उत्पादन गर्ने भएको कारण यसको मूल्य चाँडै लागु हुने अनुमान गर्न सकिन्छ । साथै, बजाजले डोमिनार २५० र ४०० तथा एभेन्जर २२० को मूल्य पनि चाँडै बढाउने अनुमान गर्न सकिन्छ ।

मस्कुलर र स्पोर्टी डिजाइनका कारण नेपालमा सर्वाधिक सफल मोटरसाइकलको सूचीमा अग्रस्थानमा पल्सर २०० एफको अहिले मूल्य ३ लाख ६७ हजार ९०० रुपैयाँ रहेको छ । अब यसको मूल्य ३ लाख ९५ हजारसम्म पुग्न सक्नेछ ।

पल्सर २२० एफमा २२० सीसी डिटिएसआई, आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २१ पीएस पावरका साथै ७००० आरपीएममा १९.१२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

पावर, डिजाइन र कम्र्फट यसको सफलताको मुख्य राज मान्ने गरिन्छ । यी तीन वटै कुरा युवाहरुको रोजाईमा पर्ने भएकाले पल्सर २२० नेपालमा सफल भएको हो । यस मोटरसाइकलको टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ ।

१५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।


Back_to_top