काठमाडौं । नेपालमा मोटरसाइकल एसम्बलिङ उद्योग खोल्ने र घोषणा गर्नेक्रम बढेको छ । करिब ३ बर्ष अगाडि नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले एसेम्बल प्लान्ट स्थापनाको काम सुरु गरेको थियो ।
गोल्छा अर्गनाइजेशन अन्र्तगतको बजाज अटो क्राफ्टले विगत केही महिनादेखि नेपालमै बजाजका मोटरसाइकल उत्पादन सुरु गरेको छ । कम्पनीले अहिले १२५ र १५० सीसीको डिस्कभर मोडलको उत्पादन गर्दै आएको जनाएको छ ।
सरकारले दिर्घकालीन सोच बनाएर चारपाङ्ग्रे सवारीसाधन एसेम्बलिङमा आर्कषित गर्न सक्ने हो भने कार उत्पादन नेपालमै हुन्छ ।
सरकारले बजेट मार्फत १५० सीसीदेखि २५० सीसीसम्मका मोटरसाईकल यही एसेम्बल गर्दा अन्तःशुल्कमा १० प्रतिशत छुट दिएको छ । सरकारको यो घोषणासँगै टिभीएस मोटरसाइकलको नेपालको लागि आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले समेत एसेम्बल प्लान्ट स्थापनाको काम अगाडि बढाएको छ ।
कम्पनीले उक्त प्लान्टबाट टिभीएस अपाचीको उत्पादन गर्ने जनाएको छ । बजाजको उत्पादन नै सुरु भइसकेको र टिभीएसले प्लान्ट लगाउन सुरु गरिसकेकाले अब नेपालमा मोटरसाइकल एसेम्बलले प्राथमिकता पाउने देखिन्छ ।
याे पनि पढ्नुस् ः एबीएस सुविधासहित बजाजको सस्तो पल्सर १२५ आउने
‘बजेटले दिएको १० प्रतिशतको सुविधाले मोटरसाईकल एसेम्बलिङमा उद्योगीहरुलाई आर्कषित गरेको छ । सरकारले दिर्घकालीन सोच बनाएर चारपाङ्ग्रे सवारीसाधन एसेम्बलिङमा आर्कषित गर्न सक्ने हो भने कार उत्पादन नेपालमै हुन्छ’ नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले मेरोअटोसँग भने ।
बजाज
बजाजले २०७४ माघबाट आफ्नो नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन सुरु गरेको छ । कम्पनीले अहिले १५० सीसीभन्दा कम इन्जिन क्षमताको वाइक उत्पादन गर्दै आएकोमा अब १५० सीसीभन्दा माथिको उत्पादन सुरुगर्ने जनाएको छ ।
उक्त प्लान्टबाट बार्षिक २५ हजारभन्दा बढी मोटरसाइकल उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनी स्रोतले भन्यो सायद अबको ३ महिनामा १५० सीसीभन्दा माथिका पल्सर बाइकको उत्पादन सुरु हुने छ । उक्त प्लान्टबाट बार्षिक ३० हजारभन्दा बढी मोटरसाइकल उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । अहिले सम्पूर्ण पाटपुर्जा भारतबाट आयात गरेर मोटरसाइकल उत्पादन गर्ने गरिएको छ ।
उक्त प्लान्ट करिब एक अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको छ । नेपाली बजारमा बार्षिक ८० हजार युनिट हाराहारीमा बजाज मोटरसाइकल बिक्री हुने गरेको छ, त्यसको आधामात्रै नेपालमै बनाउन सक्ने हो भने प्रविधि, रोजगारी सिर्जना र राजस्वमा निकै ठुलो सहयोग पुग्ने कम्पनीको दाबी छ ।
टिभीएस
टिभीएस मोटरसाइकल अब नेपालमै बन्ने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालमै उत्पादन गर्न लागेको हो । २ बर्ष अगाडि टिभीएसको डिलर लिएसँगै मोटरसाइल ब्यापारमा निकै आक्रमक रुपमा आफुलाई अगाडि ल्याएको कम्पनीले नेपालमै एसेम्बल युनिट स्थापना गर्न लागेको हो ।
कम्पनीले तत्काल २ सय सीसीसम्मका मोटरसाइकल र स्कुटर उत्पादन गर्ने जनाएको छ ।
कम्पनीले ५० करोड लगानीमा बाराको सिमरामा एसेम्ब्लिङ प्लान्ट निर्माण गरिरहेको जनाएको छ । २०७५ सालको अन्त्यसम्ममा टिभीएस बाइक नेपालमै उत्पादन गर्नेगरी काम गरिरहेको कम्पनीले बाराको सिमरामा ६ बिगाहा जमिनमा एसेम्ब्लिङ प्लान्ट निर्माण गरिरहेको छ । कम्पनीले ततकाल २ सय सीसीसम्मका मोटरसाइकल र स्कुटर उत्पादन गर्ने जनाएको छ ।
१५० सीसीभन्दा माथिकोमा आर्कषण
सरकारले आर्थिक बर्ष २०७५-०७६को बजेटबाट सवारीसाधनमा लाग्दै आएको अन्तःशुल्क इन्जिन क्षमताको आधारमा लाग्ने ब्यवस्था गरेसँगै १५० सीसीदेखि २५० सीसीसम्मका मोटरसाईकल नेपालमा नै एसेम्बल गर्दा पुरानो दरमा हेरफेर नहुने उल्लेख गरेको छ ।
मूल्यमा अहिल्यै केही परिर्वतन नआएपनि भविष्यमा नेपालमा थुप्रै बाइकका कम्पोनेन्ट उद्योगहरु खुल्ने र त्यसको प्रत्येक्ष फाइदा सबैले लिन सक्ने अनुमान लगाउन सकिन्छ ।
नयाँ बजेट अनुसार आयातीत यो बर्गको मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्छ भने नेपालमा नै उत्पादन गर्दा ४० प्रतिशत अन्तःशुल्क मात्रै लाग्ने ब्यवस्था गरिएको छ । त्यसको प्रत्यक्ष फाइदा दिन कम्पनीहरु नेपालमा नै प्लान्ट स्थापना गर्ने तयारीमा जुटेका छन् । संभबत होन्डाले पनि यस्तै घोषणा गर्न सक्ने छ ।
घट्ला मूल्य
१५० सीसीभन्दा माथिका बाइकमा १० प्रतिशत कम अन्तःशुल्क लाग्ने ब्यवस्थाले एउटा मोटर साइकलमा १० देखि १२ हजार रुपैयाँको बचत हुनेदेखिन्छ । तर, उद्योगको उत्पादन लागतले उत्पादित बस्तुको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा अहिल्यै केही भन्न सकिदैन । तर, केही रकम भने पक्कै घट्न सक्ने छ ।
मूल्यमा अहिल्यै केही परिर्वतन नआएपनि भविष्यमा नेपालमा थुप्रै बाइकका कम्पोनेन्ट उद्योगहरु खुल्ने र त्यसको प्रत्येक्ष फाइदा सबैले लिन सक्ने अनुमान लगाउन सकिन्छ ।

