पर्यटकीयस्थल ठमेलमा खाल्डैखाल्डो, नमूना वडा बन्छ: वडा अध्यक्ष तिवारी

काठमाडौं । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । 

दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो । 

एक दशकदेखि ठमेलको क्वावहालमा मालाको व्यवसाय गर्दै आउनुभएका ओखलढुङ्गाका भेषबहादुर गुरुङ ठमेलबाट असन जाने बाटोमा ढल निर्माण गर्न जथाभावी खनेकाले व्यवसाय घटेको बताउछन् । 

‘केही महिना अगाडि मेलम्चीको पानी आउने भनेर बाटो खनियो, अहिले फेरी ढल निर्माणका लागि बाटो खन्दा समस्या परेको छ,’-उनि भन्छन् । बाटोमा परेको खाल्डाखुल्डीका कारण विदेशी पाहुनालाई हिँड्न समेत समस्या परेको उनको भनाई छ । 

ठमेलको अमृतमार्गमा दुई दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरे बाटो विस्तारका क्रममा जथाभावी खनेका कारण आवतजावतमा समस्या परेको बताउछन् । ‘बाटो विस्तारका कारण व्यवसायमा समेत समस्या परेको छ,’-उनि भन्छन् । 

अमृतमार्ग अगाडि व्यास ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आएका दीपक भट्टराई ठमेल क्षेत्रमा जथाभावी खनिएका बाटोले गर्दा मुलुकको पर्यटन विकासमा ठूलो असर पुगेको बताए । 

‘सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने भनेको छ, तर ठमेलभित्रको बाटोको अवस्था यस्तो छ, कसरी पर्यटन क्षेत्रको विकास हुन्छ र ?,’-उनको प्रश्न छ । 

माथि उल्लेखित व्यवसायी प्रतिनिधि पात्रमात्र हुन् । यतिबेला ठमेल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका अधिकांश व्यवसायीलाई बाटोले गर्दा समस्या उत्पन्न गराएको छ । 

अहिले नर्सरी चोकबाट असन जाने क्वावहाल मार्ग, क्षेत्रपाटी हुँदै ठँहिटी जाने चोक, अमृत क्याम्पसदेखि सञ्चयकोषसम्मको बाटो विस्तार तथा कालोपत्रे नहुँदा स्वदेशी तथा विदेशी पर्यटकलाई हिँडडुल गर्न समस्या परेको छ । 

स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको ठमेलमा विस २०७४ कात्तिक ६ गतेदेखि सवारीसाधन निषेधित क्षेत्रका रुपमा विकास गरेपनि बाटोमा जम्ने पानी र खाल्डाखुल्डीले समस्या उत्पन्न गराएको हो । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी ल्याउनका लागि बाटो विस्तार गर्दा खाल्डो परेको बताउछन् । ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पाइप बिच्छाउँदा तथा ढल निर्माण गर्दा बाटोको यो अवस्था आएको हो,’-उनि भन्छन् । 

सञ्चयकोष अगाडि भासिएको सडक पुनःनिर्माण गरिसकिएको र बाँकी सडक पनि केही दिनमानै कालोपत्रे गरिसक्ने उनको भनाइ छ । ठमेल क्षेत्रको अधिकांश भाग कामनपा वडा नं २६ मा पर्छ । 

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी बाटो विस्तार र पानीका कारण ठमेल क्षेत्रमा खाल्डाखुल्डी परेको बताउछन् । ‘पानी परेका कारण बाटो विस्तार हुन ढिलाई भएको छ,’-उनि भन्छन् । 

महानगरपालिका जतिसक्दो चाँडो उक्त सडकलाई कालोपत्र गर्ने दिशामा अगाडि बढेको उनको भनाई छ । अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले  एक करोड १० लाख बजेट विनियोजन गरिसकेको उनले बताए । 

वडा नं २६ लाई उपत्यकाको नमूना वडा बनाउन वडा कार्यालय लागिपरेको र केही समयमा नै नमूना वडा बन्ने अध्यक्ष तिवारीको भनाइ छ । रासस


Back_to_top