१५० सीसी क्षमताको इन्जिनमा आयो ‘नयाँ पल्सर एन’

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार भारतमा पल्सर एन सिरिज अन्तर्गत स्पोर्टी कम्प्युटर डिजाइनमा एन १५० मोटरसाइकल सार्वजनिक गरेको हो ।

पल्सर एन १६० बाट प्रेरित यो मोटरसाइकलमा एन १६० को तुलनामा डिजाइनसंगै धेरै फिचरहरू परिमार्जन भएको छ । कम्प्युटर सेगमेन्टमा रहेको यस मोटरसाइकलमा वुल्फ–आई जस्तै देखिने आकर्षक एलईडी प्रोजेक्टर हेडल्याम्प, सफ्ट र स्टाइलिस डिजाइनसंगै ठूलो आकारको फ्युल ट्यांक राखिएको छ ।

बजाज पल्सर एन १५० मा १४९.६८ सीसी क्षमताको फोर स्ट्रोक, सिंगल सिलिन्डर, एयरकुल्ड, एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १४.५ ब्रेकहर्स पावर र १३.५ एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा पाँच स्पीड गियरबक्स छ ।

मस्कुलर डिजाइनको एन १५० मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि सिंगल मोनोसक दिइएको छ । यसको ब्रेकिङ मजबुत बनाउनका लागि अगाडि २४० एमएम डिस्कब्रेकसंगै एबीएस समेत दिइएको छ । पछाडिको टायरमा भने १३० एमएमको ड्रमब्रेक सिस्टम रहेको छ ।

प्रतिघण्टा ५० किलोमिटरसम्म माइलेज दिने यो मोटरसाइकलमा कन्टुर्ड स्टेप सीट, स्पोर्टीयर अन्डरबेली एग्जस्ट, फ्लोटिङ बडी प्यानल, क्रश सेक्सन टायर रहेको छ । राइडरलाई सहज बनाउन यसमा ‘लो एन्ड ग्रन्ट’को लागि ट्युन गरिएको छ ।

एन १६० मा प्रयोग भएका फिचरहरू रहेको यस मोटरसाइकलमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्पीडोमिटर र ट्याङकमा यूएसबी पोर्टसमेत राखिएको छ । यो मोटरसाइकल तीन कलर अप्सनमा उपलब्ध भएको छ । कम्पनीले भारतीय बजारमा यसको मूल्य १ लाख १७ हजार ६७७ भारु (एक्स शोरुम) निर्धारण गरेको छ ।


Back_to_top