उमेर ६१ वर्ष । शौख: तिव्र गतिमा बुलेट हाँक्नु । झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो वास्तविकता हो, पुष्पलता आचार्यको । उमेरले बुढेसकाल छोइसक्दा पनि स्फुर्ती, रहर र इच्छाले उनलाई बुलेट राइडर बनायो । एक त नेपाली परिवेश जहाँ ६० कट्नुलाई वृद्धावस्थाको रुपमा लिइन्छ । त्यही समाजमा ६१ वर्षिय आचार्यलाई आफ्नो रहर र हिम्मतले प्रेरणा र साहसको उदारण नै बनाइदिएको छ ।
पछिल्लो समय निक्कै चर्चामा आएकी आचार्यको बुलेट राइडिङ प्रोफेसनल बुलेट राइडरको भन्दा कम छैन । उनले ढुक्कले भन्छिन ‘विस्तारै हाकेर त चित्तै बुझ्दैन । सकेसम्म सबैभन्दा अगाडि जाँउ भन्ने लाग्छ । साँच्चै मेरो राइडिंग स्पीडमै हुन्छ ।’ तिव्र गतिमा मोटरसाइकल कुदाउनु उनको शौख नै बनेको छ ।
करिब १५ वर्षदेखि विभिन्न ब्रान्डका मोटरसाइकल र स्कुटर हाँक्दै आएकी आचार्यले बुलेट मोटरसाइकल नै चलाउन थालेको करिब दुई वर्ष भयो । २०५४ सालमा आरएक्स मोटरसाइकल चलाउन थालेपछि उनको बाइक यात्रा सुरु भएको हो ।
बुलेट राइडरको बीचमा स्कुटर कुदाउँदा हिनाताबोध भयो । त्यसपछि मनमनै बुलेट चढ्ने सपना देख्न थालिन् ।
आचार्य भन्छिन् ‘सिकाइकै क्रममा मोटरसाइकल १६ जिल्लाको अफरोड राइडिंग गरे । फर्कदा पर्फेक्ट भएर आए । त्यसपछि हिम्मत आयो र निरन्तर बाइक चलाइरहेको छु । अहिले मेरो नाति र म सँगसँगै बाइक चलाउँछौं ।’ १५ देखि १६ जिल्ला बाइकमै घुमिसकेकी आचार्यले अब हार्ले चढ्ने सपना बनाएकी छिन् ।
उनले करिब दुई वर्षअघि छोराहरुको बुलेट राइडर ग्रुपमा मिसिने मौका पाएकी थिइन । समूहमा रहेका सबै राइडरको साथमा बुलेट, आफ्नो भने स्कुटर । अगाडि नै भएपनि मनले चित्त बुझाएन । बुलेट राइडरको बीचमा स्कुटर कुदाउँदा हिनाताबोध भयो । त्यसपछि मनमनै बुलेट चढ्ने सपना देख्न थालिन् । बुलेट प्रतिको मोह यति बढ्यो कि उनले जस्तोसुकै हालतमा चढी छाड्ने अठोट बनाइन् ।
आचार्य भन्छिन्, ‘एक त बुलेट निक्कै हेभी हुने, त्यसमा पनि मेरो हाइट कम । सुरुवातमा हिम्मत आएन । तर हार भने मानिन है ।’ सबै तिर बुझेपनि आफ्नो हाइट बराबरको बुलेट पाइनन् । अन्तत उनले बुलेटको हाइट घटाउने उपाय पत्तो लगाइन् ।
बुलेटको मोडिफाइ पछि निक्कै दुःखले चलाउन सिकेको उनी बताउँछिन् । अहिले जहाँ जाँदा पनि बुलेट बाइककै प्रयोग गर्छिन् । बुलेट चढ्ने शौख पुरा गर्न आफ्नो छोराबाट निक्कै प्रेरणा मिलेको उनले बताइन् ।
५७ सय सीसीको मोटरसाइकल चढ्ने अन्दिप आचार्य उनका छोरा हुन् । उनी भन्छिन् ‘पारिवारिक रुपमा मलाई सबैबाट सहयोग छ । छोराबाट निक्कै हौसल्ला मिलेको छ । बुलेट चढ्नु शौख थियो । अहिले पुरा भएको छ ।’ उमेरको उचाई सँगै आफुमा शाहस, हिम्मत र निर्भिकता झन बढेको उनी बताउँछिन् । इच्छा, चाहाना भए सबै कुरा पाउन सकिन्छ भन्ने विश्वास लिएकी आचार्यले चाँडै हार्ले चढेर भारत भ्रमणमा निक्लने योजना बनाएकी छिन् ।
बुलेट राइडिंगको अलावा उनको शौख पुस्तक लेखनमा पनि छ । उनले २०५४ सालबाट निरन्तर पुस्तक लेख्दै आएकी छन् । हालसम्म उनले ६२ वटा पुस्तक प्रकाशन गरिसकेकी छिन् भने पाँच वटा प्रकाशन हुने क्रममा रहेका छन् ।
केही दिनपछिबाट सुरु हुने भारत यात्रा पछि ‘बुलेट यात्रा’ सम्बन्धि पुस्तक छाप्ने योजना रहेको उनले बताइन् ।
छोरा पनि उस्तै चर्चित
उनका छोरा अन्दिप आचार्यले हालै हार्ले डेभिडसनको भी८ चोपर किनेका छन् । इंग्ल्यान्डको नटिंघममा बसोवास गर्ने अन्दिपले किनेको हार्लेको यस्तो बाइक इंग्ल्यान्डमै ६ वटा मात्र छन् । ती ६ मध्ये एक बाइक अन्दिपले किनेका हुन् ।
उनी नटिंघममा गोर्खा किचेन नामक रेष्टुराँ सञ्चालन गरिरहेका छन् । अन्दिपले यो बाइक ९० हजार पाउन्डमा किनेका हुन् । नेपाली बजारमा यसको अनुमानित मूल्य ३ करोड रुपैयाँ भन्दा बढी पर्छ । अझ यसमा लाग्ने सबै कर जोड्ने हो भने यसको नेपालमा मूल्य ७ करोडभन्दा माथी पर्छ ।

