काठमाडौं । यातायात विभागले सडकमा हुने दुर्घटनाको बारेमा जानकारी दिने एप ल्याउने तयारी गरेको छ । दैनिक जसो हुने विभिन्न दुर्घटनालाई मध्ये नजर गर्दै विभागले रोड एक्सिडेन्ट इर्न्फमेशन मेनेजमेन्ट सिस्टम (RAIMS) एप संचालनमा ल्याउन लागेको हो ।
हाल उक्त एप परिक्षणको क्रममा रहेको छ । पुषदेखि परिक्षणका लागि ट्राफिक प्रहरीलाई उपलब्ध गराइरहेको उक्त एपले दुर्घटनाका बारेमा जानकारी दिन र तथ्यांक राख्न प्रयोग गरिने महानगरिय ट्राफिक प्रहरी प्रमुख (एसएसपी) वशन्त पन्तले जानकारी दिए ।
अहिले परिक्षणको क्रममा रहेको उक्त एप उद्घाटन पछि आधिकारीक रुपमा प्रयोगमा आउने उनले बताए ।
‘अहिले हामी परिक्षणको क्रममा छौँ, हेड्क्वाटरबाट निर्देशन आएपछि मात्र यो सार्वजनिक गरिने छ,’ पन्तले भने ।
उनका अनुसार उक्त एप सार्वजनिक हुन अझै केही समय लाग्न सक्ने छ । यातायात विभागले निर्माण गरेको उक्त एप ट्राफिक प्रहरी तथा यातायात विभागले जानकारी र तथ्याङक संकलनको लागि प्रयोग गर्नेछ ।
हाल विभागले ट्राफिक प्रहरीहरुलाई उक्त एपको बारेमा तालिम दिइरहेको छ । हरेक स्थानमा हुने दुर्घटना, त्यसको कारण र प्रकृति सम्बन्धी सम्पूर्ण जानकारी यस एपमा दुर्घटना स्थलबाट ट्राफिक प्रहरीले अपडेट गर्ने छन् ।
विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायका अनुसार उक्त एपले कुनै पनि सडक दुर्घटना भएको अवस्थामा दुर्घटनाको कारणसमेत पत्ता लगाउन सहयोग गर्नेछ ।
उनले एपमा डाटा इन्ट्री भइरहेको र हाल यातायात विभाग र ट्राफिकले त्यसमा आवस्यक काम गरिरहेको जानकारी दिए ।
‘उक्त एपमा ठाउँ ठाउँमा भएको दुर्घटनाका बारेमा डाटा इन्ट्री गरिने छ, त्यसका साथै उक्त एपमार्फत दुर्घटनाको प्रकृतिबारे पत्ता लगाउन सकिने छ,’ उपाध्यायले भने ।


