काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीस्थित ल्हेन्दे खोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ ।
गत असार २४ गते आएको बाढीले १०० मिटर लामो नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको थियो । उक्त स्थानमा चिनियाँ पक्षले निर्माण गरिरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको हो ।
चीनले गत साउन पहिलो सातादेखि बेलिब्रिज निर्माण थालेको थियो । साढे २ महिनामा चीनले बेलिब्रिज जडानको काम लगभग सकेको छ । अब नेपाल तर्फको भागमा करिब २० मिटर अप्रोच सडक बनाउन बाँकी रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
चिनियाँ पक्षले अनौपचारिक रूपमा अब ८/१० दिन भित्र पुल निर्माण सम्पन्न गर्ने जानकारी दिएको उनले बताए । ‘चिनियाँ पक्षले बेलिब्रिज जडानको काम लगभग सकेको छ । अहिले पुलमा नट कस्ने लगायत अन्तिम चरणका काम गरिरहेका छन्,’ उनले मेरोअटोसँग भने, ‘अब नेपालतर्फ पुलसम्म जोड्ने अप्रोच सडक निर्माण गर्न बाँकी छ । त्यो बनाउन धेरै दिन नलाग्ने बताएका छन् ।’
मिति टुंगो नलागे पनि बेलिब्रिज तिहार आसपासमा संचालनमा आउने देखिएको उनको भनाइ छ । चीनले बनाइरहेको बेलिब्रिज ९० मिटर लामो हुनेछ भने भारवहन क्षमता भने ५५ टन रहने छ ।

पुल बनेपछि साढे २ महिनादेखि बन्द केरुङ-रसुवागढी नाका संचालनमा ल्याइने उनले बताए । हाल नेपालतर्फ अवरुद्ध सडक खुलाउने काम तीव्र गतिमा भइरहेको उनले बताए ।
रसुवागढीमा बेलिब्रिज अस्थायी रूपमा संचलनमा ल्याउन लागिएको हो । सो ठाउँमा पक्की पुल चीनले नै बनाइदिने प्रतिबद्धता जनाएको छ ।
नेपालतर्फ के छ सडकको अवस्था ?
चीनले बेलिब्रिज निर्माण गरिसक्दा नेपालतर्फको सडक पनि संचालनमा आइसक्ने भएको छ । गत असारमा आएको बाढीले कटान गरेको स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण गरी संचालनमा ल्याइएको थियो । तर, असोज १८ र १९ गते आएको बाढीपहिरोले पुनः अवरुद्ध भएको छ ।
गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका इन्जिनियर कुमार विक्रम पराजुलीले आज बेलुकादेखि स्याफ्रुबेँसी-रसुवागढी सडकमा एकतर्फी सवारी संचालन हुने जानकारी दिए ।
उनका अनुसार स्याफ्रुबेँसी-रसुवागढी खण्डको १८ बढी स्थानमा पहरोले अवरुद्ध भएको थियो । हाल ३ वटा एस्काभेटर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको उनले बताए ।
‘असोज तेस्रो साता आएको बाढीपहिरोका कारण स्याफ्रुबेँसी-रसुवागढी खण्डको १८ बढी स्थानमा अवरुद्ध भएको थियो । पहिरो हटाउने काम लगभग सकियो । आज बेलुकाबाट एकतर्फी सडक खुल्छ,’ उनले मेरोअटोसँग भने ।
साँघुरा र अफ्ठेरो ठाउँमा सुधारको काम जारी रहेकाले चाँडै दुइतर्फी सवारी संचालनमा ल्याइने उनको भनाइ छ । टिमुरेदेखि चिनियाँ सीमासम्म पहिरो हटाए पनि सुख्खा पहिरो र ढुंगा खसिरहने भएकाले जोखिम कायम रहेको उनले बताए ।

त्यस्तै, बाढीले कुलुङ पुलको फाउन्डेसनमा पनि क्षति पुर्याएको छ । उक्त पुलको अहिले मर्मत भइरहेको छ । आगामी ५/७ दिनमा मर्मत सकिने उनको भनाइ छ ।
भन्सार यार्ड सरसफाइ र मर्मत गरिँदै
तिहार पछिसम्म पुल र सडक दुवै बन्ने भएसँगै भन्सार कार्यालय पनि संचालनमा ल्याउने तयारी थालिएको छ । गत असारमा आएको बाढीले भन्सार यार्डमा ठूलो क्षति पुर्याएको थियो ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले अहिले नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत भन्सार यार्ड सरसफाइ र मर्मत भइरहेको बताए ।
‘असारको बाढीले यार्डमा ठूलो क्षति पुर्याएको थियो । त्यहाँ अहिले पर्खाल लगाउने, सरसफाइ गर्ने लगायत काम भइरहेको छ,’ उनले मेरोअटोसँग भने, ‘पुल र सडक खुल्ने बित्तिकै भन्सार जाँचपास सुरू हुन्छ ।’
यद्यपि, विगतको जस्तो धेरै गाडी एकैपट ल्याएर राख्ने अवस्था भने नरहेको उनले बताए । यार्ड बगाएकाले पहिलाको जस्तै धेरै गाडी राख्न सक्ने अवस्था छैन । आउने गाडीलाई सोही दिन वा भोलिपल्टै जाँचपास गरी पठाउने तयारी गरेका छौं,’ उनले भने ।
पुल निर्माण अन्तिम चरणमा पुगेसँगै चिनियाँ पक्षले नेपालतर्फको तयारीको बारेमा अनौपचारिक जानकारी समेत लिएको उनले बताए ।


