९ दिनपछि रोयल इनफिल्डले नयाँ मोटरसाइकल ल्याउने

काठमाडौं । आइकोनीक ब्राण्ड रोयल इनफिल्डले ३५० देखि ६५० सीसी सम्म क्षमताका धेरै मोटरसाइकल बिक्री गर्दै आएको छ । निकै आक्रमक बजार बिस्तारमा लागेको रोयल इनफिल्डले ९ दिनपछि अर्को नयाँ मोडल बजारमा ल्याउन लागेको हो ।

कम्पनीले ३५० सीसी सेग्मेन्टमा नयाँ ‘गोअन क्लासिक’ मोटरसाइकल नोभेम्बर २३ तारिकमा लन्च गर्ने भएको छ । रोयल इनफिल्डले भारतको गोवामा नोभेम्बर २०२४ मा आयोजना हुने मोटोभर्समा यसलाई सार्वजनिक गर्नेछ ।

कम्पनीले रोयल इन्फिल्डको नयाँ गोअन क्लासिक ३५० मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरेको हो । यसमा सिंगल स्प्लिट सिट, डिटेच गर्न मिल्ने पिलियन सिट, यू आकारको ह्यान्डलबार, राउण्ड हेडलाइट, एलईडी लाइट, एलईडी इन्डिकेटर हुनेछ ।

साथै, डुअल च्यानल एबीएस, दुवै पाङ्ग्रामा डिस्क ब्रेक, एनालग स्पीडोमिटर र सेमी डिजिटल स्पीडोमिटर, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचरहरु छन् ।

रेट्रो बबर डिजाइनमा रहेको गोअन मोटरसाइकलमा क्लासिक ३५० मा प्रयोग गरेको ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा एड्जस्टेवल क्लच र ब्रेक दिइएको छ ।


Back_to_top