काठमाडौं । नेपालमा कोरोना भाइसरको कारण लकडाउन सुरु भएको एक महिनाभन्दा बढी समय भइसकेको छ । अहिले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ । यस्तोमा मोटरसाइकललाई ढुवानीको साधन बनाएर नयाँ व्यापार गर्नेहरु बढ्न थालेका छन् ।
काभ्रेका कृष्णकाजी गहतराजले आफ्नो पुरानो युनिकर्न मोटरसाइकललाई तरकारी ओसार-पसार र बिक्री गर्ने थलोको रुपमा विकास गरेका छन् । उनले आफ्नो पुरानो पेसा वेल्डीङ गर्ने काम लकडाउनको कारण बन्द भएकाले मोटरसाइकलमा तरकारी व्यापार सुरु गरेका हुन् । उनि अहिले बौद्ध एरियामा तरकारी बेच्छन् ।
नुवाकोट घरभइ बालाजु बस्दै आएका मनोहर अधिकारी पनि आफ्नो यामाहा सलुटो मोटरसाइकलमा फलफुल र तरकारी राखेर बिक्री गर्दै आएका छन् । उनले पनि आफ्नो पुरानो व्यवसाय खाजा पसल बन्द रहेकाले नयाँ पेसा अँगालेका हुन् ।

उनको जस्तै मोटरसाइकलमा दुई क्यान दुध बोकेर डेरी पसलसम्म लाने काम गर्दै आएका छन् सानागाउँका नविन राई । उनले विहानको समयमा दुध पुर्याउने र दिउँसो पनिर, दही र तरकारी बजारसम्म लान आफ्नो बजाज प्लाटिनाको प्रयोग गर्दै आएका छन् ।
यी त प्रतिनिधि पात्रमात्र हुन् । मोटरसाइकलमा राखेर आफ्नो व्यवसाय गर्ने थुप्रै मानिस बजारमा पाउन सकिन्छ । उनिहरु कतिले आफ्नो नियमित पेसा मोटरसाइकलमा गर्दै आएका छन् भने कतिले लकडाउनमा जीवन गुजारा गर्न नयाँ पेसा सुरु गरेका हुन् ।
अहिले बजारमा खाद्यान्नमा पाइने धेरै जसो बस्तु मोटरसाइकलमा डुलाएर बिक्री गर्ने गरिन्छ । यसले मोटरसाइकलको प्रयोग व्यवसायमा बढ्दै गएको देखाउँछ ।
कानुनी अड्चन र पुराना मोटरसाइकल
मोटरसाइकलमा यसरी धेरै समान बोकेर हिड्नु ग्रैहकानुनी काम हो । यसरी धेरै सामान मोटरसाइकल तथा स्कुटरमा बोकेर हिड्दा ट्राफिक प्रहरीले कारवाही गर्छ ।

यसरी सामान बोकेर हिड्ने मोटरसाइकललाई प्रयोजन विपरित प्रयोग गरेको भनेर कारवाही गर्न सक्छ भने अर्को ओभरलोड भनेर पनि कारवाही गर्न सक्छ ।
तर, पछिल्ला दिनमा यसरी व्यवसायमा केही फरकपन दिन रिकन्डिसन हाउसबाट बिक्री हुने मोटरसाइकल धेरै रहेका छन् । कम्यूटर सेग्मेन्टका मोटरसाइकल बजारमा ३०/४० हजार रुपैयाँबाट बजारमा किन्न पाइन्छ । छिटो र छरितो रुपमा सामान ओसार पसार गर्न सक्ने भएकाले मोटरसाइकको प्रयोग बढ्दो क्रममा रहेको हाे ।


