रेनोले ल्यायो आफ्नो कारभन्दा महंगो मोटरसाइकल

काठमाडौं । फ्रान्सेली मोटर निर्माता कम्पनी रेनोले हालै सम्पन्न पेरिस मोटर शोमा आफ्नो नयाँ इलेक्ट्रीक कार रेनल्ट ४ ई-टेक सार्वजनिक गर्यो । यसले गाडी प्रेमीका बीचमा अहिले राम्रै चर्चा पाइरहेको छ ।

यही मोटर शोमा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल समेत प्रदर्शन गरेको छ । कम्पनीले सार्वजनिक गरेको मोटरसाइकलको मूल्य २३ हजार ३४० यूरो निर्धारण गरिएको हो । यसको नेपाली मूल्यमा सिधा हिसाब गर्दा ३३ लाख ८४ हजार ३०० रुपैयाँ हुन्छ ।

दुई भेरियन्टमा उत्पादन हुने यो मोटरसाइकलको टप भेरियन्टको मूल्य २४ हजार ९५० यूरो रहेको छ ।

‘हेरिटेज स्प्रीन्ट स्क्रयाम्वलर’ नाम दिइएको यो मोटरसाइकल पुर्णतया ह्याण्ड मेड भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो मोटरसाइकल एकदमै लिमिटेड यूनिट मात्र उत्पादन हुनेछ ।

प्रि अर्डरमा मात्र किन्न सकिने यो मोटरसाइकल २०२५ को मार्चदेखि मात्र बिक्री सुरू हुने कम्पनीले बताएको छ ।

यसको टप भेरियन्टको स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ भने वेस भेरियन्टको टप स्पीड ४५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

निओ रेट्रो डिजाइनमा तयार भएको यो मोटरसाइकलमा सानो आकारको एलइडी हेडलाइट, डिआरएल, सिंगल पिस लेदर सिट, वाइड ह्याण्डलबार, बार इन्ड मिरर उपलब्ध छ ।

यो मोटरसाइकलमा ४.८ किलोवट आवर क्षमाताको ब्याट्री प्रयोग भएको छ । यसलाई एक पटक फुलचार्ज गरेर ११० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

यो मोटरसाइकलमा यूएसडी फर्क, मोनोशक सस्पेन्सन, १७ इन्च अलोय ह्वील, डबल डिस्क ब्रेक, एबीएस जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top