काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो आइकोनिक ब्राण्ड नेम रेनो-४ लाई पुन प्रयोगमा ल्याएको छ । कम्पनीले फ्रान्समा सुरु भएको अटो शोमा इलेक्ट्रीक पावरट्रेनमा रेनो-४ सार्वजनिक गरेको हो ।
निकै बोल्ड लुक्समा देखिएको रेनो-४ पुरानो १९६१ मा आएको कारको तुलनामा लामो र अग्लो रहेको छ । नयाँ इलेक्ट्रीक मोडलको लम्बाई ४१४० एमएम, चौडाई १८०० एमएम र उचाई १५७० एमएम रहेको छ । यसको दोस्रो इनिङ कस्तो रहन्छ भन्ने थाहापाउन सन् २०२५ को मध्येसम्म कुर्नु पर्ने हुन्छ ।

प्रयोगको लागि निकै सहज देखिएको रेनो-४ लुक्सका हिसावले निकै एड्भेन्चर देखिन्छ । पछिल्लो समय क्रसओभर मोडलहरुको बजार ब्यापक वृद्धि हुँदै गएको समयमा कम्पनीले यसलाई त्यहि डिजाइनमा ल्याएको हो ।
यूनिक फ्रन्ट लुक्स र पृथक लाग्ने टेल लाइटको प्रयोग गरिएको रेनो-४ को इन्टेरियरमा दुई डिस्प्ले दिइएको छ । यसमा १०.१ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १० इन्चको गुगल पावर्ड इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । कपडा वा लेदर सिट छनोट गर्न मिल्ने कारमा हेडरुम र लेगरुम प्रसस्त रहेको छ ।

यसमा ८८ किलोवाट र ११० किलोवाटको दुई मोटर उपलब्ध छ । सानो ८८ किलोवाटको मोटरसँग ४० किलोवाट आवर र ठूलो मोटरसँग ५२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । सानो ब्याट्रीले सिंगल चार्जमा ३०५ र ठूलो ब्याट्रीले ३०२ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसलाई १०० किलोवाट क्षमताको डिसी फास्ट चार्जरबाट रिचार्ज गर्न सकिन्छ ।

