मासिक २२ हजारमा ७ सिट क्षमताको कार

काठमाडौं । सात सिट क्षमताको गाडी भन्नासाथ मूल्य धेरै होला भन्ने लाग्छ । तर, नेपाली बजारमा मासिक २२ हजार किस्ता तिर्नेगरि ७ सिट क्षमताको गाडी खरिद गर्न सकिन्छ ।

एड्भान्स अटोमोवाइलले विक्री गर्दै आएको रेनो ट्राइबर ७ सिट क्षमताको सबैभन्दा कम मूल्यको कार हो । यसलाई ५ सिट र ७ सिट गरेर दुई अप्सनमा प्रयोग गर्न सकिन्छ । कोभिड १९ सुरु हुनु केहि दिनअघि मात्रै नेपालमा सार्वजनिक भएको रेनो ट्राइभर अहिले धेरै विक्री हुने ७ सिटर भएको छ ।

झट्ट हेर्दा सामान्य लाग्ने ट्राइभरको विक्री बढ्नुमा यसको मूल्य पहिलो कारण रहेको छ । फ्रेन्च ब्राण्ड रेनोले भारतीय बजारलाई केन्द्रमा राखेर उत्पादन गरेको यो कार अहिले नेपालमा पनि निकै राम्रो संख्यामा विक्री हुँदै आएको कम्पनीले जनाएको छ ।

रेनोले अहिले नयाँ वर्ष २०७८ को अफर संचालन गरिरहेको छ । कम्पनीले संचालन गरेको अफर योजनामा ग्राहकले राम्रो स्कीम पाउने कम्पनीले जनाएको छ ।

कति पर्छ मासिक किस्ता

नेपाली बजारमा ट्राइभरको ४ भेरियन्ट उपलब्ध रहेको छ । ट्राइबर आरएक्सई भेरियन्टको मूल्य २८ लाख ९० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३० लाख ५० हजार, आरएक्सटी भेरियन्टको ३२ लाख १० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेर विक्री वितरण गर्दै आएको छ । कम्पनीले नयाँ वर्ष अफर अन्तर्गत यसमा १ लाखसम्म छुट प्रदान गर्दै आएको छ ।

रेनो ट्राइबरको सुरुवाती आरएक्सई भेरियन्ट खरिद गर्न चाहने ग्राहकले २७ लाख ९० हजार रुपैयाँसम्ममा यसलाई खरिद गर्न सक्ने छन् । अहिले गाडी किन्न चाहने व्यक्तिले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने ५० प्रतिशत कर्जा सुविधा पाउने छन् ।

यसरी गाडी किन्न चाहने ग्राहकले १३ लाख ९५ हजार रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्ने हुन्छ भने १३ लाख ९५ हजार नै बैंकबाट कर्जा सुविधा पाउने छन् । अहिले बजारमा चलेको अधिकतम ९ प्रतिशत व्याजदरमा ७ वर्षको लागि कर्जा लिएर ट्राइबर आरएक्सई भेरियन्ट खरिद गर्ने हो भने २२ हजार ३ सय रुपैयाँ हाराहारी मासिक किस्ता तिर्नु पर्छ । यसको टप भेरियन्ट आरएक्सजेड खरिद गर्ने ग्राहकले मासिक २७ हजार हाराहारी किस्ता वापतको रकम तिर्नु पर्ने हुन्छ ।

रेनो ट्राइबरमा १.० लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।


Back_to_top