यस्तो छ चक्रपथ झिलिमिली बनाउने योजना

काठमाडौं । सडक विभाग अन्तर्गतको ललितपुर सडक डिभिजन कार्यालयले बिस्तारित कोटेश्वर–कलंकी सडकखण्डमा ४ सय सडक बत्ती जडान गर्ने भएको छ । साथै, उक्त खण्डमा १५ स्थानमा ट्राफिक लाईटसमेत जडान गर्ने भएको हो । 

आउँदो आर्थिक वर्षमा चक्रपथमा सबै तिर झिलिमिलि बनाउने योजनाका साथ यस्तो प्रस्ताव ल्याइएको सडक डिभिजन कार्यालय ललितपुरले जानकारी दिएको छ । 

सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दिप बाराहीका अनुसार बिस्तारित सडकखण्डमा ललितपुर डिभिजन कार्यालयले सडक र ट्राफिक लाईट राख्ने काम गर्छ । 

चक्रपथ निर्माणको ठेक्का पाएको चिनीयाँ कम्पनीले नै राख्नु पर्ने उक्त बत्ति खर्च बढ्ने भएपछि चिनीयाँ कम्पनी यसबाट पछि हटेको बताईन्छ । 

ललितपुर डिभिजन कार्यालय प्रमुख अमृत रिमालका अनुसार अहिले सडक विभागले यसमा बत्ति राख्ने प्रस्ताव अघि सारेको छ । तर, कहिलेबाट सडक बत्ती राख्ने भन्ने विषयमा भने कुनै पनि निर्णय भएको छैन । 

उक्त सडकखण्डमा सडक बत्ति राख्न झण्डै २५÷३० करोड रुपैयाँको हाराहारीमा खर्च लाग्ने रिमालले बताए । 

‘चक्रपथ सडकखण्डमा कतै सडक बत्ति नभएकाले बनाउने भन्ने छलफलछ अघि बढेको हो, सडक बत्ति महंगो पर्ने भएरै चिनीयाँ कम्पनी पनि पछि हट्यो,’ रिमालले मेरोअटोसँग भने । 

उनले सडक बत्ति राख्दा पोल राख्न र जमिन मुनिबाट तार लैजानु पर्ने भएकाले महंगो पर्न जाने बताए । 

यस्तै चक्रपथमा रहेका जेब्राक्रसिङमा १५ स्थानमा ट्राफिक लाइट राख्ने योजना सडक विभागको रहेको छ । 

सो ट्राफिक लाइट राख्न २ देखि ४ करोड रुपैयाँको हाराहारीमा लगानी लाख्ने रिमालले बताए । 

यदि आउँदो आर्थिक वर्षसम्ममा ४ सय सडक लाइट र १५ ट्राफिक बत्ति राख्ने निश्चित भएमा आर्थिक वर्ष २०७७/०७८ सालसम्ममा निर्माण पुरा गर्न सकिने उनले बताए । 

हाल चक्रपथ क्षेत्रमा कतै पनि ट्राफिक लाइट राखिएको छैन । सो क्षेत्रमा सबै तिर ट्राफिक प्रहरी आफै खटिएर सडक जाम व्यवस्थापन गर्दै आएका छन् । यदि विभागको यो योजना कार्यान्वयनमा आउन सके चक्रपथ क्षेत्रमा तैनाथ ट्राफिक प्रहरीले राहत पाउने देखिन्छ । 


Back_to_top