ल्यान्डक्रुजरबाट V8 इन्जिन हटाउँदै टोयोटा, यस्ताे छ कारण

टोयोटाको ल्याण्डक्रुजर यति चर्चित र आर्कषक एसयुभी हुनुका पछाडि त्यसमा दिइएको जर्बजस्त भी८ इन्जिनलाई मानिन्छ । 

वास्तवमा ३८१ हर्स पावर ५.७ लिटर ३ युआर–एफई भी८ ग्यासोलिन इन्जिन भएको यो गाडी विश्वभरिका मानिसहरुको रोजाइमा पर्ने गरेको छ । अफ रोडको राजाको रुपमा यो गाडीले आफ्नो पहिचान बनाएको छ । 

तर, टोयोटाले आगामी ३०० सिरिज ल्याण्डक्रुजरमा भी८ इन्जिनको प्रयोग नगर्ने समाचार आएको छ । समाचारको शतप्रतिशत पुष्टि नभए पनि ‘कार एड्भाइस’ सँगको अन्र्तवार्तामा टोयोटा अष्ट्रेलियाका उत्पादन योजना र विकास प्रमुख बर्नाड नाडालले टोयोटा मात्र नभएर बिश्वका धेरै ब्राण्डहरुले भी८ विस्तापित गर्न लागेको संकेत गरेका छन् । 

उनले गाडी चुस्त बनाउन र कार्बन डाइअक्साइडको उत्र्सजन घटाउन ब्राण्डहरुले यो बाटो समाएको बताएका छन् ।

गाडी चुस्त बनाउन टर्बो चार्ज्ड भी६ इन्जिनको प्रयोग गर्ने संभावना रहेको अष्ट्रेलियाली कार म्यागजिनहरुले जनाएका छन् । ती म्यागजिनहरुका अनुसार आउँदै गरेको ३०० सिरिजको ल्याण्डक्रुजरमा सन् २०२१ सम्म भी६ टर्बो इन्जिनको अप्सनमा आउने संभावना छ । भी ६ हाइब्रिड पावर प्लान्ट पनि केही बर्षमा आइपुग्ने संभावना छ । 

अर्कोतर्फ कार्बन डाइअक्साइडको उत्र्सजन घटाउने मुद्दा पछिल्लो दशकमा विश्वब्यापी मुद्दाको रुपमा उदाएको छ । र, ब्राण्डहरु पृथ्वी जोगाउने मुद्दामा केन्द्रित हुनु अस्वाभाविक पनि होइन । 


Back_to_top