टीभीएससँगै शिखर चुमेका दीपक

काठमाडौं । टीभीएस नेपालको लागि नयाँ र नौलो नाम होइन । करिब २५ वर्षदेखि नेपाली बजारमा उपलब्ध टीभीएस केही वर्ष अघिसम्म कमै मानिसको रोजाइको ब्राण्ड थियो । चौधरी ग्रुप अन्तर्गतको सीजी अटोमोबाइल्सले विक्री गर्दै आएको टीभीएस औषतमा वार्षिक ५ हजार यूनिट विक्री हुन्थ्यो ।

सन् २०१४ देखि २०१७ सम्म नेपालमा उपलब्ध केही ब्राण्डले आफ्नो डिलर परिवर्तन गरे । सुरूमा महिन्द्राको टू ह्वीलर सेग्मेन्टबाट आफ्नो यात्रा सुरू गरेको जगदम्बा मोटर्सले सन् २०१५ मा महिन्द्रा छाडेर टीभीएसको आधिकारीक वितरक बन्यो । प्रोडक्ट लाइनअप राम्रो र भारतमा निकै सफल ब्राण्ड भएको कारण जगदम्बा मोटर्सको आँखा टीभीएसमा लागेको हो । त्यतिबेला महिन्द्राका उत्पादन हेर्न दीपककुमार अग्रवालले जगदम्बा मोटर्समा काम सुरू गरिसकेका थिए ।

१२५ सीसीदेखि २०० सीसीसम्मको सेग्मेन्टमा निकै राम्रा मोडल उपलब्ध गराएको टीभीएसलाई नेपाली बजारमा स्थापित गर्न धेरै काम गर्नु पर्ने अवस्था थियो । त्यसको लागि कुशल नेतृत्वकर्ताको आवश्यकता पूरा गर्न उनै दीपक अग्रवाल भाइस प्रेसिडेन्टको रूपमा अगाडि आए ।

दीपक व्यवसायिक पृष्ठभूमिका मारवाडी होइनन् । उनी प्रोफेशल व्यक्ति हुन् । व्यवसायिक जीवनको सुरूमा शिक्षण पेसा अंगालेका उनी बैंकिङ र त्यसपछि अटोमोबाइलमा बलियो पकड बनाउन सफल भए ।

स्कोडाबाट अटोमोबाइल क्षेत्रमा प्रवेश गरेका अग्रवाल छिटो निर्णय लिन सक्ने क्षमताको कारण सधैँ चर्चामा रहे । उनको नेतृत्वमा नेपाली बजारमा टीभीएसले सफलताको शिखर चुम्यो । उनले यसबीचमा टीभीएसको आक्रमक बजार विस्तारको लागि आवश्यक पूर्वाधार तयार पारे । बलियो ब्राण्डिङ, ठूलो सर्भिस नेटवर्क, देशभर फैलिएको डिलर नेटवर्क र ‘नयाँ प्रोडक्ट लाइनअप’ले कम्पनीले देखेको सपना पूरा गरायो ।

चर्चामा रहन मानिसको पर्फमेन्स चाहिन्छ । त्यसको लागि उनको कामले पनि प्रमाणित गरेको देखिन्छ । सन् २०१५ सम्म वार्षिक ५ हजार हाराहारी विक्री हुने टीभीएस अहिले वार्षिक ५० हजार हाराहारी विक्री हुन थालेको छ । करिब ६ वर्षमा १० गुणा धेरै मोटरसाइकल विक्री गर्न सक्नुले उनको सफलता मापन गर्न अर्को तराजु चाहिँदैन । साथै, विभिन्न व्यवसायिक फोरमहरूमा उनको उपस्थिति पनि बलियो भयो । जहाँ उनले आफूलाई निखार्ने मौका पाए ।

आफ्नो सफलतालाई अग्रवाल भने फरक ढंगले बुझ्छन् । उनी भन्छन्, ‘व्यवस्थापनको विश्वास र टिमवर्कले नै यो सफलता हासिल भएको हो । दीपक एउटा मानिस के हो र ? त्यसैले सही समयमा सही निर्णय लिने काम मात्रै मैले गरेको हुँ ।’

आफ्नो दैनिक काम गर्ने तरिका, साथीहरूको सहयोग र व्यवस्थापनको विश्वासको कारण सफलताको शिखरमा पुगेको टीभीएस र दीपकको क्यारियरले अटो क्षेत्रमा एउटा अलग पहिचान स्थापित गरेको छ । कम्पनीको सफलतासँगै जगदम्बा मोटर्सले उनलाई भाइस प्रेसिडेन्टबाट प्रमोशन गर्दै निर्देशक तथा सीईओ बनाएको छ । अब उनले टीभीएसको सबै विभागलाई सम्हाल्ने छन् ।

आक्रमक रणनीतिमा रहेको टीभीएस इन्डियाले थप नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको छ । यस्तोमा नेपालमा डिलर विस्तार, उत्कृष्ट सर्भिस, स्तरीय पार्टस् उपलब्धता र ग्राहकमैत्री योजना अग्रवालको प्राथमिकतामा पर्ने छन् ।

 


Back_to_top