काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयको रिपोर्टअनुसार २०६९ सालदेखि २०७४ साल असार मसान्तसम्ममा कोटेश्वर सूर्यविनायक सडक खण्डमा भएको सडक दुर्घटनामा १३२ जनाले ज्यान गुमाएका छन् ।
करिब १३ किलोमिटर लामो सडकखण्डमा ५ वर्षमा यति धेरै मानिसहरूले ज्यान गुमाउनु परेको छ । यस्तोमा हाम्रो सडक दुर्घटनाको अवस्था भयावह रहेको देखिएको छ ।
यस सडकखण्डमा मृत्यु हुनेमा सबैभन्दा बढी ९४ जना पुरुष रहेका छन् भने, २६ जना महिलाले आफ्नो ज्यान गुमाएका छन् । १२ बालबालिका यो सडकको शिकार भएका छन् ।
अझ सडक दुर्घटनाको संख्या कहालीलाग्दो रहेको छ । यो सडक खण्डमा दैनिक औसत २ वटा दुर्घटना हुने तथ्यांक बाहिर आएको छ । २०७४ असार मसान्तसम्म ३ हजार ६५४ वटा दुर्घटना भएको ट्राफिक प्रहरीसँग रेकर्ड रहेको छ ।
दुर्घटनामा परी घाइते हुनेको संख्या २ हजार ९४२ छन् भने गम्भीर घाइते हुनेको संख्या १८५ रहेको छ । यस क्षेत्रको सडक दुर्घटनामा ८ वटा घरपालुवा जनावरहरूले आफ्नो ज्यान गुमाएका छन् ।
२०६९ देखि २०७४ सम्मको प्रत्येक आर्थिक वर्षको सडक दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । २०६९ सालमा २० जनाले ज्यान गुमाएकोमा त्यसपछिका वर्षहरूमा क्रमिकरुपमा २७, १८, २७, र ४० जनाले ज्यान गुमाएका थिए ।
त्यसैगरी, कुल दुर्घटनाको संख्यामा पनि क्रमशः बढ्दै गएको देखिन्छ । २०६९ सालमा ४३४ दुर्घटना भएकोमा त्यसपछि क्रमशः ४८५, ५३०, ६५७ र ७७४ पुगेको देखिन्छ ।
‘दुर्घटना कम गर्न, सडकको अवस्था राम्रो हुनुपर्छ, चालकले लेनमा गाडी चलाउनुपर्छ, सवारीसाधनको गति नियन्त्रण हुनुपर्छ । अनी दुर्घटना आफैं कम हुन्छ । अहिले भइरहेको दुर्घटना ट्राफिक नियम पालना नगरेर भएको हो’, एसएसपी उमेश रंजितकारले मेरोअटोसँग भने ।
‘पैदलयात्रीले जेब्राक्रसिङ वा आकाशेपुलबाट मात्र सडक पार गर्नुपर्छ, चेतनाको कमीले दुर्घटनाको संख्या बढ्दो क्रममा रहेको छ’ उनले भने ।
कुन सवारी, कति दुर्घटनामा
कुल दुर्घटनामध्ये २ हजार ९४२ दुर्घटनामा मोटरसाइकल/स्कुटर परेका छन् । त्यसैगरी, ६१० बस, ८६ माइक्रो, १ हजार ९७ कार/जीप, ६७५ ट्रक, ३० ट्र्याक्टर, र ७७ रिक्सा-साइकलजस्ता सवारी रहेका छन् ।