सवारी दुर्घटनामा वार्षिक २ हजारको मृत्यु, यस्तो छ चार महिनाको अवस्था

काठमाडौं । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट करिब दश हजार जनाको जनाको ज्यान गएको छ । 

आर्थिक वर्ष २०७३–०७४ मा नेपालभर १० हजार १७८ सवारी दुर्घटना हुँदा उपत्यकाभित्रै पाँच हजार ५३० सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परी देशभर दुई हजार छ जनाको मृत्यु भएको थियो । 

आर्थिक वर्ष २०७४–०७५ सवारी दुर्घटना र मानवीय क्षति दुबै बढेर गएको तथ्याङ्क छ । २०७४–०७५ देशभर दश हजार नौ सय ६५ सवारी दुर्घटनामा परी दुई हजार तीन सय ८४ जनाको मृत्यु भयो । सो अवधिमा उपत्यकामा ६ हजार तीन सय ८९ सवारी दुर्घटना हुँदा एक सय ८२ जनाको मृत्यु भयो ।

महाशाखाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिनामा २ हजार ६ सय ९४ सवारीसाधन दुर्घटनामा परेका  भएका छन् । उक्त दुर्घटनामा ४ हजार ७ सय ७६ सवारीसाधन संग्लन रहेका छन् । उक्त दुर्घटनामा परि ८१ जनाले ज्यान गुमाएका छन् भने ८९ गम्भिर घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

यसरी बढ्दो दुर्घटनाको मूख्य कारण भने चालकको लापरबाही रहेको छ । चालकको लापरबाहीका कारण २ हजार ३ सय ५ वटा दुर्घटना भएको उपत्यका ट्राफिक महाशाखाका प्रबक्ता जयराज सापकोटाले जानकारी दिए । 

उनकाअनुसार विशेषत ट्रक, ट्याङ्कर, ट्रीपर, बस र मोटरसाइकलका चालकको लापरबाहीको कारण धेरै सडक दुर्घटना हुने गरेको छ । त्यस्तै, तिव्र गतिका कारण २ सय १६, मादक पदार्थ सेवनका कारण १ सय ३ सवारीसाधन दुर्घटनामा परेका छन् । 

आँकडाअनुसार सबैभन्दा धेरै दुइपाङ्ग्रे सवारीसाधन दुर्घटना पर्ने गरेका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १ हजार ७ सय ५२ मोटरसाइकल, ४ सय २५ ट्रक तथा ट्याङ्कर, १ हजार ६ सय ८६ कार–जीप, ५ सय ७९ बसलगायतका सवारी दुर्घटनामा परेका छन् । विशेषतः दिउँसोको समयमा बढी दुर्घटना हुने गरेको पाइएको महाशाखाले जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि अनेकन उपाय अवलम्बन गरिएको भए पनि सवारीको चाप र सवारी दुर्घटनामा कमी आउन सकेको छैन । 


Back_to_top