यामाहाले सलुटो १२५ बाइकलाई नयाँ डिजाइनको साथ सार्वजनिक गरेको छ । कम्पनीले सलुटो सलुटो १२५ यूबीएस र सलुटो आरएक्स ११० यूबीएस दुई मोडल भारतमा सार्वजनिक गरेको हो ।
यूनिफाईड ब्रेकिङ सिस्टम (यूबीएस) सहित आएकाले यो बाइकको नामको पछाडि कम्पनीले यूबीएस जोडेको हो । भारत सरकारले १२५ सीसीसम्मको बाइकमा यूबीएस अनिर्वाय गरेको कारण सलुटोको ब्रेकिङ सिस्टममा सुधार गरिएको कम्पनीले बिज्ञप्तीमा उल्लेख गरेको छ ।
यामाहाले नेपाली बजारमा बिक्री गर्दै आएको सबैभन्दा सस्तो बाइक पनि सलुटो नै हो । तर, सलुटो आरएक्स ११० भने नेपाली बजारमा उपलब्ध छैन ।
नेपालको लागि यामाहाको आधिकारीक वितरक एमएडब्ल्यूले बिक्री गर्दै आएको सलुटो १२५ डिस्क ब्रेक र ड्रम ब्रेक अप्सनमा उपलब्ध रहेको छ । डिस्क ब्रेक यूक्त बाइकको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ रहेको छ भने ड्रम ब्रेक यूक्त बाइकको मूल्य १ लाख ८७ हजार ९०० रुपैयाँ रहेको छ । तर, नयाँ सलुटो भने केही महिनापछि मात्रै नेपाली बजारमा आउने छ ।
सलुटो १२५ यूबीएसमा एयरकुल्ड, ४ स्टोक,एसओएचसी, २ भल्व वेस ब्ल्युकोर इन्जिन दिइएको छ ।
के हो यूएसबी ?
यूनिफाईड ब्रेकिङ सिस्टम (यूबीएस) मोटरसाइकलको पछाडिको चक्कमा ब्रेक लगाउँदा त्यही अनुसारले अगाडिको चक्कामा पनि ब्रेक लाग्ने र बाइकलाई लड्नबाट बचाउन प्रयोग गरिएको प्रविधि हो ।
यस प्रबिधिलाई यूबीएसको अलावा कम्बाईन ब्रेकिङ सिस्टम (सिबीएस) समेत भन्ने गरिन्छ ।


