यस कारण सवारी दुर्घटनामा दैनिक ६ जनाले ज्यान गुमाउँछन्

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७३/०७४ मा १० हजार १७८ वटा दुर्घटना भएका छन् । दैनिक औसत २८ दुर्घटना हुने गरेका छन् भने, ती दुर्घटनामा परेर दैनिक ६ जनाले ज्यान गुमाउने गरेका छन् । 

फ्याक्ट नेपालले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा मुख्यतः दुर्घटना हुनाका ७ कारण देखाइएको छ । 

चालकको लापर्वाही

चालकले सवारी चलाँउदा लापर्वाही गरेका कारण आर्थिक वर्ष २०७३/०७४ मा ७ हजार ४८७ दुर्घटना भएको देखिएको छ । 

दुर्घटना निम्तिन धेरै ठूलो कुनै कारण चाहिँदैन । चालकले रेडियो मिलाउने, यात्रुसँग बोल्ने, र फोन चलाउनेजस्ता कार्यहरूमा व्यस्त हुँदा सडकमा ध्यान पुग्दैन । यस्तो लापर्वाहीले ठूलो दुर्घटना निम्तँदैआएको देखिएको छ । चालकले ट्राफिक नियम पूर्ण पालना नगरी सवारी चलाँउदा बढी दुर्घटना हुने गरेको छ । 

तिब्र गतिमा सवारी चलाउनु

अत्यधिक गतिमा सवारीसाधन चलाँउदा चालकले नियन्त्रण गुमाउन सक्ने हुन्छ । गत आर्थिक वर्षमा यस्तो किसिमको दुर्घटनाको संख्या १ हजार ३९२ पटक भएको छ । 

आफ्नो सवारीसाधनलाई समयमा भनेको ठाँउमा रोक्न विफल हुँदा यस्ता किसिमका गम्भीर दुर्घटनाहरू हुने गरेका छन् । यस्तो दुर्घटनामा मृत्यु हुने संख्या निकै बढी भएको देखिएको छ । 

यात्रुहरूको गल्ती

सवारी चालकमात्र नभई, सवारी चढ्ने र पैदल यात्रुहरूको गल्तीले पनि दुर्घटना हुने गरेको पाइन्छ । जथाभावी बाटो काट्ने वा गाडीमा सवार यात्रुले चालकसँग कुराकानी गरिरहँदा दुर्घटना हुने जोखिम रहन्छ । गतवर्ष यस्तो कारण ३ सय ७६ दुर्घटना भएको फ्याक्ट नेपालको डाटामा उल्लेख गरिएको छ । 

मादकपदार्थको सेवन

सडक सुरक्षामा जोड दिन मादक पदार्थ सेवनलाई ट्राफिक प्रहरीले निकै कडाई गरे पनि गतवर्ष मदिरा सेवनको कारण २ सय ८८ दुर्घटना भएका छन् । मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा चालकको ध्यान केन्द्रित नहुने, सडकमा राम्रो निर्णय लिन नसक्ने र प्रतिकूल स्थितिमा तुरुन्तै प्रतिक्रिया गर्ने क्षमता नहुँदा दुर्घटना हुने गरेको छ । 

सवारीसाधनको अवस्था

नेपालमा हुने सडक दुर्घटनामा सवारीसाधनको कन्डिसनको कारण पनि आउँछ । गतवर्ष यान्त्रिक विफलताका कारण भएको दुर्घटनाको संख्या २ सय ४९ रहेको छ । 

सडकमा सवारीसाधन लिएर निस्कनु अगाडि टायर, ब्रेक, स्टीयरिङ, बत्ती, लुकिङ् ग्लास, वाइपरलगायतका प्रणाली दुरुस्त छ वा छैन, चेक गर्नुपर्ने हुन्छ । यी कुरामा ध्यान नदिईंदा दुर्घटना निम्तिने गरेको छ । 

ओभरटेक 

दुर्घटनाको अर्को मुख्य कारण सडकमा अचानक आफ्नो लेन क्रस गरी ओभरटेक गर्न जानु हो । ओभरटेक गर्दा प्राय ः उल्टो दिशाबाट आउने सवारीसँग ठोकिने सम्भावना बढी हुन्छ । कुनै पनि सवारीसाधनले एउटै समयमा ओभरटेक गर्दा पनि अत्यधिक दुर्घटना हुने खतरा रहन्छ । यसरी ओभरटेक गर्दा गतवर्ष २ सय १३ दुर्घटना भएको तथ्यांकले देखाएको छ । 

खराब सडकको अवस्था

अधिकांश सडक इञ्जिनियरिङको मापदण्ड पूर्णरूपमा पालना नगरी निर्माण गरिएकाले सडक दुर्घटनाको जोखिम ज्यादा भएको छ । गत आर्थिक वर्षमा खराब सडकको कारण ९४ दुर्घटना भएको देखिन्छ ।

यसरी सडक संरचनामा भएका विद्यमान कमजोरीहरू कायम रहको अवस्थामा चालकको सानो असावधानीले पनि सवारी दुर्घटना हुने गरेको पाइन्छ ।


Back_to_top