विश्वका १३ ठूला सहरमा कार प्रतिबन्ध !

काठमाडौं । मर्सिडिज, स्मार्ट अटोबाइल, वेस्टर्न स्टार, भक्सवागनजस्ता विश्व प्रसिद्ध अटो ब्राण्डको निर्माण गर्दै आएको जर्मनीले प्रदूषण नियन्त्रण गर्ने योजनामा देशका विभिन्न सहरमा कार चलाउन प्रतिबन्ध लगाउने भएको छ । 

जर्मनीको एक उच्च प्रशासनिक अदालतले सहरी वायुको गुणात्मक सुधारका लागि स्टगार्ड र डिसेलडोर्फलगायतका सहरमा कार चलाउन रोक लगाउने भएको हो । 

अदालतले स्टगार्डमा सुरुवातमा पोर्चे, मर्सिडेज बेन्जलगायतका ब्राण्डलाई रोक लागाउने जनाएको छ । जर्मनीसँगै विश्वका १३ सहरले प्रदूषण नियन्त्रण गर्ने उद्देश्यसहित कार चलाउन प्रतिबन्ध लगाउने योजना ल्याएका छन् । 

ओस्लो 

नर्वेले सन् २०१९ सम्ममा ओस्लोका कुनै पनि क्षेत्रमा कार चलाउन नपाउने नीति ल्याएको छ । नर्वेजियन राजधानीले कार चल्दैआएका ३५ बढी राजमार्गलाई पुनर्निर्माण गर्ने तथा सार्वजनिक सवारीसाधनमा लगानी बढाउने नीति ल्याएको हो । ट्राभल अल्टिभेटिभका कार्यकारी निर्देशक पालस्व ह्वाईटले ओस्लोलाई प्रदूषणमुक्त बनाउन कार चलाउन प्रतिबन्ध गर्ने योजनाअनुरुप कार्य भैरहेको जनाएका छन् ।

मड्रिड 

स्पेनले मड्रिड सहरमा सन् २०२० सम्ममा करिब ५ सय यकड जमिन भित्र कार चलाउन प्रतिबन्ध लगाउने भएको छ । साथै, स्वच्छ सहर निर्माण अभियनमा संलग्न अधिकारीहरूले सहरका ठूला २४ सडकलाई सहजरुपमा हिडेरै आवातजावत गर्न मिल्ने बनाउन लागेको जनाएका छन् । यस योजनाअनुसार मड्रिडले सहरमा अहिले सञ्चालन हुने कारलाई घटाएर वार्षिक २३ प्रतिशतले घटाउदै लाने योजना बनाएको छ । 

चीनको चेदंगु 

सिकागोका आर्किकेट एड्रियन स्मिथ र गार्डन गिलले चीनमा नयाँ आवासीय क्षेत्र बनाएका छन् । मानिसहरूलाई कारको प्रयोगलाई घटाउन तथा हिँडेरै आवातजावत गर्न प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूले नयाँ डिजाइनको आवास तथा सडकको निर्माण गरेका हुन् । यहाँको सडकको डिजाइनअनुसार हिँडेर नै १५ मिनेटभित्रमा आवश्यक स्थानमा पुग्न सकिन्छ । 

चीनको सहर चेदंगुले पूर्णरुपमा कारमा प्रतिबन्धन लगाई जम्मा ८० हजार मानिसले मात्र सवारी चलाउन पाउने नीति ल्याएको छ । यो योजनालई चेदंगुले २०२० सम्ममा लागू गर्ने जनाएको छ । 

हमवर्ग

जर्मनीको अर्काे सहर हमवर्गले आगामी दुई दशकभित्रमा कार चलाउन प्रतिबन्ध लगाउने भएको छ । योसँगै जर्मनीले साइकल यात्री तथा पैदलयात्रीलाई हिँडेरै आवातजावत गर्न आग्रह गर्दैआएको छ । यो परियोजनालाई ग्रीन नेटवर्कको नाम दिइएको छ । सो नेटवर्कमा जोडिएकाहरूले विना कारको उपयोग सहरका खाली पार्क, चौर, खेल मैदानलगायतका स्थान प्रयोग गर्न पाउनेछन् । हमवर्गले २०३५ सम्म सहरका ४० प्रतिशत स्थानलाई ग्रीन नेटवर्कको दायरमा ल्याउने जनाएको छ । 

कोपनहेगन 

कोपनहेगनले सन् २०२५ सम्ममा सहरलाई कारमुक्त बनाउने भएको छ । अन्य देशले जस्तै डेनमार्कले पनि कोपनहेगनलाई प्रदूषणमुक्त बनाउन सन् २०१४ बाटै विभिन्न कार्य गर्दैआएको थियो । यसले कार गुड्ने सडकको सट्टा साइकल लेनको निर्माण गरी कार चलाउन प्रतिबन्ध लगाउने भएको हो । 

पेरिस

फ्रान्सको पेरिसले सन् २०१४ मा एक दिनका लागि कारमाथि प्रतिबन्ध लगाउँदा ३० प्रतिशत प्रदूषण कम भएको रिपोर्ट सार्वजनिक भएको थियो । अब, अन्य सहरले जस्तै पेरिसले पनि प्रदूषण नियन्त्रणका लागि कारमाथि प्रतिबन्ध लगाउने योजना बनाएको छ । २०१६ को जुलाईमा पेरिसले सन् १९९७ भन्दा अगाडि बनेका कार बिदाको दिन चलाउन नपाउने नियम ल्याएको थियो । पेरिस प्रमुखकाअनुसार सन् २०२० सम्ममा मोटरसाइकलका लागि डबल लेनको सडकको निर्माण गर्ने तथा सीमित सडकमा मात्र इलेक्ट्रीक कार चलाउन पाउने बताउँछन् । उत्सर्जन कम गर्न पेरिसले सन् २०१५–१६ देखि नै आइतबारको दिन कार चलाउन रोक लगाउँदैआएको थियो ।

लण्डन 

यूरोपको चर्चित सहर लण्डनका प्रमुखले सन् २०२० सम्ममा डिजेलको प्रयोग हुने कारमाथि प्रतिबन्ध लगाउने जनाएका छन् । हाल, लण्डनले डिजेलको प्रयोगलाई घटाउन डिजेलको प्रयोग हुने कारमाथि प्रतिदिन १२.५० डलर चार्ज तिराई रहेको छ । यातायात व्यवस्थापनका अभियन्ता स्टेफन जोसेफ भन्छन्, ‘लण्डन लामो समयदेखि उत्सर्जन कम गर्ने योजना बनाउँदैआएको छ । अब प्रत्येक डिजेल, पेट्रोललगायतका इन्धनको प्रयोग गर्ने सम्पूर्ण कारमाथि प्रतिबन्ध लगाइने छ ।’ सन् २०१७ को जुलाईमा ब्रिटेनले २०४० सम्ममा ग्यास तथा इन्धनबाट सञ्चालन हुने सम्पूर्ण कारमाथि प्रतिबन्ध लगाइने घोषणा गरेको थियो ।

ब्रसेल्स

नगर, सिटी मार्केट तथा सिटी एक्सचेञ्जले घेरिएको ब्रसेल्स सहरले पनि कारमाथि प्रतिबन्ध लगाउने भएको छ । युरोपियन सहरमध्ये ब्रसेल्स कार फ्रि क्षेत्र घोषणा गर्ने कोपेनहेगन पछाडिको दोस्रो ठूलो सहर हो । सन् २००२ मा ब्रसेल्सले जनतालाई सार्वजनिक सवारीसाधनको प्रयोगलाई जोड दिन पहिलो कार्यक्रम मोभिलिटी सप्ताह मनाएको थियो । सेप्टेम्बरबाट हप्ताको एकदिन कार चलाउन प्रतिबन्ध लगाउँदैआएको यस सहरले कारमाथि प्रतिबन्ध लगाउने विभिन्न उपाय अपनाउँदैआएको छ । 

बर्लिन 

सन् २००८ मा जर्मनीको राजधानी बर्लिनले कम उत्सर्जन पैदा भएका क्षेत्रमा इन्धन तथा ग्यासको प्रयोग हुने सबै कारमाथि प्रतिबन्ध लगाउने योजना बनाएको थियो । तर, बर्लिनको संसद्बाट सो विध्येयक पारित हुन सकेन । तर, बर्लिनले २०१७ मा दर्जनौं मोटरसाइकल सुपर हाईवे निर्माण गर्ने योजना बनाएको छ, जसले कारमाथि प्रतिबन्ध लगाउँन सहायता पु¥याउनेछ । 

मेक्सिको 

अन्य सहरले जस्तै मेक्सिकोले सहरको केन्द्रबाट करिब दुई लाख कार हटाउने भएको छ । २०१६ को अगस्टमा मेक्सिकोको स्थानीय सरकारले सन् २०१६ बाट महिनाको दुई शनिबार कार चलाउन प्रतिबन्ध लगाएको हो । यहाँ लाइसेन्स नम्बर प्लेटको आधारमा रोटेशनअनुसार कार चलाउने प्रावधान रहेको छ । 

बोगोटा

कोलम्बियाको सहर बोगोटाले सन् १९७४ बाट सिसेलोभिया अभियानमार्फत् कारमाथि प्रतिबन्ध लगाउने योजना बनाउँदैआएको थियो । बोगोटाले करिब ७५ माइल सडकमार्गमा हप्ताको एकदिन कार चलाउन रोक लगाउँदैआएको छ । सन् २०१३ मा बोगोटाको स्थानीय सरकारले पिक एण्ड प्लेट अभियान सञ्चालनमा ल्याएको थियो । 

सनफ्रान्सिस्को 

सनफ्रान्सिस्कोले सन् २०१७ मा २.२ मिलीयन मार्केट स्ट्रीटलाई बाइक लेनको रुपमा परिणत गर्ने घोषणा गरेको छ । सहरको सबैभन्दा व्यस्त सहरमा कार चलाउन प्रतिबन्ध लगाउने योजनाअनुरुप सनफ्रान्सिस्कोले यस्तो निर्णय गरेको हो ।  स्ट्रीट मार्केटको सो क्षेत्रलाई शान्त तथा कारमुक्त बनाउने उद्देश्यले २०१८ बाटै बाइक स्ट्रीट निर्माण गर्ने भएको छ । सो संरचना निर्माणका लागि करिब ६ सय ४ मिलीयन डलर खर्च हुने अनुमान गरिएको छ । 

न्यूयोर्क सिटी

न्यूयोर्क सिटीले पनि सहरको वायु प्रदूषणलाई ध्यानमा राखी जनताहरूलाई सार्वजनिक सवारीका साधन, साइकलको प्रयोग बढाउन आग्रह गर्दैआएको छ । तत्कालै कार चलाउन प्रतिबन्ध लगाउने योजना नबनाए तापनि न्यूयोर्कले सहरको टाइम्स स्क्वायर, हल्र्याण्ड स्क्वयार, म्याडिसन स्क्वायरलगायतका खाली स्थानमा विना कार आवातजावत गर्न पैदलयात्रीलाई प्रोत्साहन गर्दैआएको छ । विभिन्न एजेन्सीको सहयोगमा अप्सरा गौतमले तयार पारेको रिपोर्ट


Back_to_top