यातायात व्यवसायी र सरकार बीच आज छलफल हुदैँ, आन्दोलन स्थगित होला ?

काठमाडौं । सिन्डिकेट खारेजीपछि चरणबद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलाई सरकारले छलफलको लागि बोलाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले व्यवसायीहरुलाई अपरान्ह ४ बजे छलफलको लागि बोलाएका हुन् । 

‘हामीले व्यवसायीको तर्फबाट ज्ञापनपत्र दिने र मन्त्रीसँग छलफल गर्ने कार्यक्रम रहेको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । 

समिति अन्र्तगत चल्ने यातायातलाई कम्पनीमा रुपान्तरण गरी संचालनगर्ने सरकारको निणर्य प्रति यातायात व्यवसायिहरुले आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेका छन् । 

बस समितिलाई खारेज गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर मात्रै गाडी संचालनगर्न सरकारले निर्देशन दिइसकेको छ । अहिले दुईपक्षिय संवादहरु जारी रहेको बताउँदै महासचिव सिटौलाले सहमति हुने दावीसमेत गरेका छन् । 

सरकारको निर्देशनपछि केही नयाँ कम्पनीदर्ताका लागि कम्पनी रजिष्टारको कार्यालयमा पुगिसकेका छन् । समितिमा आवद्ध व्यवसायीहरू भने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आन्दोलनमा जाने निर्णय गरेका हुन् ।

हड्तालसहितको आन्दोलनमा गए सवारी साधान नियन्त्रणमा लिने, आफै चलाउने, व्यवसायीलाई कारवाही गर्ने, बैक खाता रोक्का गर्ने लगायतका चेतावनी सरकारले यस अघि नै दिइसकेको छ ।


Back_to_top