यातायात व्यवसायीको आन्दोलन विरुद्ध जिल्ला प्रशासन उत्रने तयारी

बैतडी । सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ । 

गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले पनि एक सूचना जारीगरी व्यवसायीले बन्द तथा आन्दोलन गरे प्रशासनले कारबाहीको दायरामा ल्याउने जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ४, ५ र ६ मा निषेध गरिएको हड्ताल गर्ने वा त्यसमा भाग लिने, भाग लिई राख्ने व्यक्ति र नगदी सहयोग गर्ने व्यक्तिलाई कारबाही गर्नसक्ने व्यवस्था रहेको छ’ 

साथै, सर्वोच्चको २०६७ मुद्दा १९ को फैसलाअनुसार एकाधिकार कायम हुने सिण्डिकेट नगर्न नगराउन भनी आदेश दिइसकेकाले आन्दोलन नगर्न आग्रह गरेको छ । 

व्यवसायीले आन्दोलन गरे सरकारले दिएको आदेशअनुसार नै कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।  


Back_to_top