काठमाडौं । त्रिभुवन विमानस्थल प्रबेशद्धार नजिकै भत्किएको सडक निर्माणको काम धमाधम भइरहेको छ । करिब ६ महिना अगाडि भासिएको यो सडकले मर्मतकोलागि विदेशी राष्ट्र प्रमुखहरुको नेपाल भ्रमण नै कुर्नु पर्ने रहेछ ।
लामो जाममा रहेका ट्याक्सी चालक अर्जुन भेटुवाल भन्दै थिए ‘यही हो नेपालको विकास, यहाँ सडकको खाल्डा पुर्नपनि विदेशी पाहुना नै आउनु पर्छ’ ।
सरकारले विकास निर्माणलाई तिब्रता दिने बताई रहँदा काठमाडौंका बाटामा टिपर, स्काभेटर, लोडर, डोजरलगायतका निर्माणसँग सम्बन्धीत सवारीसाधनहरु निकै ब्यस्त भएका छन् ।
साउन र भदौमा ब्यस्त भएका यी निर्माण उद्योगसँग जोडिएका औजारहरु नेपालको मुहार परिर्वतन गर्ने पूर्वाधार विकासको काममा खटिएको भन्दा पनी विदेशी पाहुनालाई देखाउन सडकमा पैसा खन्याउने काममा खटिएका छन् ।
सरकारले यही भदौ १४ र १५ गते बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा आयोजना हुँदैछ । त्यसकालागि अहिले बर्षमा सडक पीच गर्ने, पोलका तार हटाउने, रङरोगन गर्नेजस्ता कामहरु भइरहेका छन् ।

