को हुन् ? टेस्ला अध्यक्षमा इलन मस्कलाई रिप्लेस गर्ने रविन डेनहम

रविन डेनहम अमेरिकी चर्चित इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाको अध्यक्षमा चुनिएकी छिन् । उनि टेलष्ट्रा अस्ट्रेलियाको सिएफओ तथा स्ट्याटीजि हेडको रुपमा कार्यरत थिइन् । ५५ वर्षिय डेनहमले टेस्ला अध्यक्षमा चर्चित युवा बैज्ञानिक इलन मस्कलाई रिप्लेस गरिकी हुन् । 

टेलष्ट्रा अस्ट्रेलियाको टेलिकम्युनिकेसन कम्पनी हो । उनले टेलस्ट्रामा आधिकारीक रुपमा काम छाड्ने जानकारी दिएकी छिन् । अब ६ महिनाको नोटीस अवधी पुरागरेपछि उनि टेस्लाको अध्यक्ष बन्ने छिन् ।

टेस्लाद्धारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार डेनहम २०१४ देखिनै कम्पनीको संचालक रहेको र अब कम्पनीले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ । 

इलन मस्क अब सिइओ मात्रै

अमेरिकी सेयर बजार नियामक संस्था सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसनसँग सेप्टेम्बरमा भएको सम्झौता अनुसार इलन मस्कले कार्यकारी अध्यक्ष पद छाड्ने विषयमा सहमति भएको थियो । सोही अनुरुप अब कम्पनीको सिइओ र बोर्ड सदस्यको रुपमा मस्कको उपस्थिति रहने छ । 

एक ट्वीटले अध्यक्ष पद गयो

इलन मस्कले अगस्ट महिनामा गरेको एउटा ट्वीटले उनको अध्यक्ष पद लगेको हो । उनले ट्वीट मार्फत टेस्ला कम्पनीलाई प्राईभेट कम्पनी बनाउने तयारी भएको भन्दै ट्वीट गरेका थिए । 

उनले आफ्नो ट्वीटमा ४२० डलर प्रतिशेयरमा लगानीकर्तालाई रकम दिएर कम्पनीलाई प्राइभेट बनाउने कुरा लेखेका थिए । यसको विरुद्धमा सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसनले लगानीकर्तामा भ्रम छरेको भन्दै उनलाई कारवाही गरेको हो ।

अब तीन वर्ष अध्यक्ष बन्न नपाउने

सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसनसँग भएको सम्झौंता अनुसार इलन मस्क अब कम्तीमा ३ वर्ष टेस्ला कम्पनीको अध्यक्ष बन्न पाउने छैनन् । डिसेम्बर महिनासम्ममा टेस्ला कम्पनीमा २ नयाँ निर्देशक ल्याउनु पर्ने नियामकले निर्देशन दिएको छ । 

२००४ बाट टेस्ला कम्पनीको सिइओ रहेका मस्क यसअघि १४ वर्षदेखि निरन्तर कम्पनीको अध्यक्ष रहेका थिए ।  


Back_to_top