काठमाडौं । रोयल इन्फिल्ड हिमालयनको बीएस ४ भर्सन नेपालमा सोल्ड आउट भएको छ । यससँगै कम्पनीले बीएस ६ भर्सन नेपाल ल्याउने तयारी थालेको छ ।
कम्पनी स्रोतका अनुसार बीएस ६ भर्सन नेपाल ल्याउने तयारी भइरहेको छ, भने मूल्यको बिषय टुङगो लगाएर सकेसम्म चाँडै नेपाल भित्र्याउने जनाएको छ ।
रोयल इन्फिल्ड हिमालयनको फ्रन्टमा ४१ एमएमको परम्परागत टेलिस्कोप फर्क र रियरमा मोनोसक रहेको छ । यसको फ्रन्टमा ३०० एमएमको डिस्क र रियरमा २४० एमएमको डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस सुविधा पाउन सकिन्छ ।
हिमालयनमा ४११ सीसी क्षमताको एयरकुल्ड एसओएचसी एफआई इन्जिन रहेको छ । ५ स्पीडको गियरबक्स रहेको यो इन्जिनले २४ पीएस पावर तथा ३२ एनएम टर्क जेनेरेट गर्छ ।
नेपाली बजारमा एड्भेन्चर मोटरसाइकलको माग बढ्दो रहेको छ । हालै मात्र केटीएले एड्भेन्चर ३९० र एड्भेन्चर २५० सार्वजनिक गरेको थियो । रोयल इन्फिल्ड हिमालयनको प्रतिस्पर्धा केटीएम एड्भेन्चर ३९० सँग रहेको छ । हाल रोयल इन्फिल्ड हिमालयन सोल्डआउट भएको फाइदा केटीएम ३९० लाई भइरहेको छ ।
रोयल इन्फिल्डको आधिकारिक एमभी दुगर्ड ग्रुपले हिमालयन बीएस ४ भर्सनको मूल्य ८ लाख ९८ हजार रुपैयाँमा विक्री गरेको थियो भने बीएस ६ भर्सनको मूल्य भने वृद्धि हुने कम्पनीले जनाएको छ । केटीएम एड्भेन्चर २५० को मूल्य ७ लाख ५० हजार र एड्भेन्चर ३९० को मूल्य १० लाख रुपैयाँ रहेको छ ।


