रोयल इनफिल्ड हिमालयन ६५० को तस्बीर सार्वजनिक, नेपालमा हिमालयन ४५० आउँदै

काठमाडौं । रोयल इनफिल्डले हिमालयन ६५० को परिक्षण सुरु गरेको छ । कम्पनीले गतवर्ष हिमालयन ४५० सार्वजनिक गरेको थियो भने अहिले हिमालयन ६५० को परिक्षण भइरहेको तस्बीर बाहिर आएको हो ।

केही दिन अघि मात्र गोरिल्ला ४५० सार्वजनिक गरेको कम्पनीले नयाँ एड्भेन्चर टूरर परिक्षण सुरु गरेको हो ।

पहिलो पटक सार्वजनिक तस्बीरमा ट्वीन सिलिन्डर इन्जिन देख्न सकिन्छ । यसमा ६४८ सीसी, लिक्विड कुल्ड, ट्वीन सिलिन्डर इन्जिनको प्रयोग भएको छ भने, अपस्वेप्ट एक्जष्ट, स्पोक ह्वील, यूएसडी फर्क, फ्रन्टमा ट्वीन डिस्क जस्ता फिचर देख्न सकिन्छ ।

यसका अलावा यसमा सानो आकारको टीएफटी डिस्प्ले, हिमालयन ४५० मा भएको स्प्लीट सिट र रियर ग्रयाबरेल हिमालयन ६५० मा देख्न सकिन्छ । त्यस्तै हिमालयन ४५० मा जस्तै देखिने तर केही ठुलो आकारको फ्यूल ट्याङ्क यसमा देख्न सकिन्छ । यसमा प्रयोग भएको ह्वील भने हिमालयन ४५० को तुलनामा सानो आकारको देखिन्छ ।

२०२५ को अन्तिमसम्ममा यो मोटरसाइकल सार्वजनिक हुने अनुमान गर्न सकिन्छ भने यसको मूल्य ४ लाख हाराहारीमा हुने अनुमान गरिएको छ ।

नेपालमा हिमालयन ४५० आउँदै

नेपाली बजारमा रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभले हिमालयन ४५० सार्वजनिक गर्ने तयारी गरेको छ । भदौ ११ गतेदेखि भृकुटीमण्डमा आयोजना हुने नाडा अटो शोमा हिमालयन ४५० प्रदर्शन गर्ने तयारी थालेको हो ।


Back_to_top