दिपल एस-०७ र एक्सपेङ जी-६ मा कुन राम्रो ? यस्ता छन् फरक

काठमाडौं । अहिले बजारको हटकेक मोडल बनेको दिपल एस–०७ लाई टक्कर दिन नयाँ एसयूभी एक्सपेङ जी–६ नेपाली बजारमा प्रबेश गर्दैछ । आगामी महिना हुने नाडा अटो शो मार्फत एक्सपेङले नेपाल प्रबेश गर्न लागेको हो ।

एक्सपेङको नेपाल आउने पहिलो मोडल ‘जी-सिक्स’ हो । कम्पनीले आफ्नो लाइनअपमा रहेका एसयूभी मध्ये सबैभन्दा पहिला जी-६ लाई राइट ह्याण्ड ड्राइभमा उत्पादन गरेको छ ।

विश्व बजारमा टेस्लाको मोडल बाईसँग प्रतिस्पर्धा गर्ने एक्सपेङको जी-६ ब्याट्री पावर र ओभरअल गाडीको साइजका आधारमा नेपालमा भने दिपल एस-०७ सँग सिधा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

मूल्य

अत्याधुनिक सुरक्षा फिचरले सुसज्जित भएका दुबै एसयूभीको मूल्य निकै महत्वपूर्ण मानिन्छ । अहिले एमएडब्लू वृद्धि मोटोकर्पले बिक्री गर्दै आएको दिपल एस-०७ को मूल्य ७५ लाख रुपैयाँ रहेको छ ।

सिजी मोटर्सले नेपाल ल्याएको एक्सपेङ जी-६ को मूल्य सार्वजनिक भएको छैन । तर, कम्पनीले यसलाई पनि ७५ देखि ८० लाख भित्रै मूल्य राखेर बिक्री गर्ने देखिन्छ ।

दिपल एस-०७ इन्टेरियर

पावरमा ब्यापक फरक

यी दुई एसयूभीमा सबैभन्दा ठूलो फरक गाडीको पावरमा हुनेछ । दिपल एस-०७ मा ९९ किलोवाट क्षमताको पीकपावर भएको मोटर जडान भएको छ । त्यो भनेको १३४ पीएस पावर हो ।

नेपाली बजारमा आउन लागेको एक्सपेङ जी-६मा पीकपावर १९० किलोवाटको मोटर रहने छ । त्यो भनेको २५८ पीएस हा । पावरको मामलामा दिपल एस-०७ माथि एक्सपेङ जी-६ निकै भारी पर्ने देखिन्छ ।

ब्याट्री साइज र रेन्ज

एक्सपेङमा ६६ किलोवाट आवर आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक पाउन सकिन्छ । डब्लूएलटीपी रेन्ज टेष्ट रिपोर्ट अनुसार यसले सिंगल चार्जमा ४३५ किलोमिटर रेन्ज दिन्छ ।

त्यस्तै दिपल एस-०७ मा लिथियम टर्नर ६६.८ किलोवाट आवरको एनएमसी ब्याट्री रहेको छ । यसको डब्लुएलटीपी रेन्ज ४१० किलोमिटर छ ।

फरक आर्किटेक्चर

एक्सपेङ जी-सिक्स ‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’ र ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको एसयूभी हो । यसले २१५ किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले १० बाट ८० प्रतिशात मात्र २० मिनेटमा रिचार्ज गर्छ ।

दिपल एस-०७ ‘इपीएवान डेडिकेटेड ईभी डिजिटल प्लेटफर्म’मा बनेको हो । यसलाई ४०० भोल्ट आर्किटेक्चर बनाएको हो । त्यसैले यसको डिसी चार्जिङ स्पीड एक्सपेङको तुलनामा निकै कम हुन्छ । यसलाई ८७ किलोवाट क्षमताको डिसी चार्जरले ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न ३५ मिनेट लाग्नेछ ।

साइज

धेरैले तुलना गर्ने विषय गाडीको साइज पनि हो । तर, यी दुबै गाडी साइजमा पनि कडा प्रतिस्पर्धी हुन् । एक्सपेङ जी६ एसयूभीको लम्बाई ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ह्वील पनि २० इन्चको छ ।

त्यसैगरी, एस-०७को लम्बाई ४७५० एमएम, चौडाई १९३० एमएम र उचाई १६२५ एमएम छ । यो एसयूभी २९०० एमएम लामो ह्वीलवेस छ । यसमा पनि समान २० इन्चको ह्वील छ ।

एक्सपेङ जी-६ इन्टेरियर

अन्य फिचर

दिपल एस-०७ मा टुस्पोक स्टेरिङह्वील, १४ वटा सोनीको स्पीकर सहितको १५.६ इन्चको सनफ्लावर टचस्कृन, हेडअप डिस्प्ले, क्वालकमको स्न्यापड्रागन ८१५५ चीप र दिपलको आफ्नै अपरेटिङ सिस्टम पाउन सकिन्छ ।

एक्सपेङ जी-०६मा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर छन् । यसमा टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १८ वटा स्पीकर सहितको १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ ।

दुबै ईभीमा एडास २.० इन्टेलीजेन्ट ड्राइभिङ फिचर छन् । अर्को समानता दुबै एसयूभीमा पानारोमिक ग्लासरुफ दिइएको छ ।


Back_to_top