काठमाडौं । अल्फा अटोमोटिभले ट्रेनिङ सेन्टर संचालनमा ल्याएको छ । प्रिमियम ब्रान्ड रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फाले बिहीबारदेखि ललितपुरको बालकुमारीमा ट्रेनिङ सेन्टर संचालनमा ल्याएको हो ।
मोटरसाइकल मर्मतका लागि प्राविधिकहरू तयार गर्नुका साथै बिक्रीपछिको सेवालाई अझै उत्कृष्ट बनाउने उद्देश्यले उक्त ट्रेनिङ सेन्टर संचालनमा ल्याइएको कम्पनीले जनाएको छ । रोयल इन्फिल्डको नेपालमा यो पहिलो ट्रेनिङ सेन्टर हो ।
उक्त ट्रेनिङ सेन्टर उद्घाटन कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक हर्ष सांघाई, मेघराज पौडेल तथा रोयल इनफिल्ड इन्डियाका प्रतिनिहरूको समेत सहभागिता रहेको थियो ।
कम्पनीका निर्देशक मेघराज पौडेलले उक्त ट्रेनिङ सेन्टर रोयल इनफिल्ड मोटरसाइकलसँग चासो राख्ने सबैका लागि संचालनमा ल्याइएको बताएका छन् । विशेष गरी रोयल इनफिल्डले दक्ष टेक्निसियन उत्पादन गर्ने र मोटरसाइकलको बिक्रीपछिको सेवालाई अझै उत्कृष्ट बनाउने योजनाका साथ ट्रेनिङ सेन्टर संचालनमा ल्याउने उनको भनाइ छ ।
कम्पनीले २४ हजार स्वायर फिट क्षेत्रफलमा वेयर हाउस, सर्भिस सेन्टर तथा ट्रेनिङ सेन्टर संचालनमा ल्याएको हो । उक्त ट्रेनिङ सेन्टरमा क्लास रुम तथा प्राक्टिकल रुम अलग अलग निर्माण गरिएको छ । अडियो भिडियोद्धारा अत्याधुनिक टेक्नोलोजिमार्फत ट्रेनिङहरू आयोजना हुने कम्पनीले बताएको छ ।


