काठमाडौंमा विद्युतीय बसको संख्या थपिदै, ३७ वटा बस केही दिनमै आइपुग्ने

काठमाडौं । उपत्यकामा विद्युतीय सार्वजनिक बसको संख्या बढ्दै गएको छ । सुन्दर यातायातबाट सुरु भएको विद्युतीय बसको यात्रामा साझाले तीनवटा बस गुडाउन थालेसँगै बढ्ने क्रम जारी छ ।

साझा यातायातले ल्याउन लागेको थप ३७ वटा विद्युतीय बसपनि चीनबाट नेपालको लागि हिडेको छ । साझा यातायातले यी बस कोदारी–तातोपानी नाका हुँदै काठमाडौं ल्याउने छ ।

साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा थालेका थिए । पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिंदै आएका रुटहरुबाट सेवा दिइरहेको छ ।

चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो ।

अहिले ९ मिटर लामो बस किनिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ ।

त्यसैगरी अन्य कम्पनीले चाँडै विद्युतीय बस संचालनको लागि अध्ययन पुरा हुने जनाएका छन् ।


Back_to_top