मूल्य एउटै, इन्जिन र फिचरमा धेरै फरक भएका दुई मोटरसाइकल

काठमाडौं । मोटरसाइकलको मूल्य महंगो भएको देशमा कर इन्जिन क्षमताको आधारमा निर्धारण हुन्छ । तर, यहाँ इन्जिन पावरमा निकै फरक भएका दुई मोटरसाइकल एउटै मूल्यमा बिक्री हुँदै आएका छन् ।

नेपालमा मोटरसाइकल बिक्री गर्ने दुई परम्परागत प्रतिस्पर्धी बजाज र यामाहाका दुई मोटरसाइकलको मूल्य ढ्याक्कै एउटै भएको हो । मूल्य उस्तै तर, इन्जिनमा भने निकै ठूलो अन्तर पाउन सकिन्छ ।

बजाजको सबैभन्दा पावरफुल मोटरसाइकल एनएस-४०० जेड र यामाहा मोडल एमटी–१५ भीटु मोडलको मूल्य समान रहेको छ । समान मूल्यका यी दुई मोटरसाइकलमा रहेका फरक केलाउन प्रयास हामीले यहाँ गरेका छौं ।

मूल्य एउटै

बजाज र यामाहाको आधिकारीक बिक्रेताले यी दुबै मोटरसाइकलको मूल्य समान ५ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री सुरु गरेका छन् ।

इन्जिन क्षमता

बजाज एनएस ४०० जेडमा ३७३ सीसीको सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डीओएचसी, फोर भल्ब, एफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम ४० बीएच पावर र ३५ एनएम टर्क जेनेरेट गर्छ ।

यामाहा एमटी १५ भीटुमा १५५ सीसी क्षमताको भीभीए टेक्नोलोजीमा आधारित सिंगल सिलिन्डर, एसओएचआई, फोर भल्ब, एफआई इन्जिन छ । यसले अधिकतम १८.४ हर्सपावर र १४.२ एनएमको टर्क जेनेरेट गर्छ ।

दुबै मोटरसाइकलमा ६ स्टेपको गियरबक्ससंगै स्लीप र असिस्ट क्लच पाउन सकिन्छ ।

माइलेज

एमटीमा १० लिटरको फ्युल ट्याकं दिइएको छ भने एनएसमा १२ लिटरको छ । दुबै कम्पनीले दाबी गरे अनुसार ४० देखि ४५ प्रतिकिलोमिटरसम्म प्रतिलिटर माइलेज पाउन सकिन्छ ।

डिजाइन

दुबै मोटरसाइकल नेकेड स्ट्रीट डिजाइनमा छन् । आकर्षक ग्राफिक्स डिजाइन र हेड्ल्याम्प, कम्फर्टेवल सिट पोजिसन, राइडिंग कम्फर्ट र इजी कर्नरिङ दुबै मोटरसाइकलका सबल पक्ष हुन् ।

फिचर

बजाजले एनएस-४०० मा सबै एलइडी लाइट दिएको छ । पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र कलरफुल एलसीडी डिस्प्ले यसमा पाउन सकिन्छ । ब्लुटूथ कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट, टर्न बाइ टर्न नेभिगेसन, चारवटा राइडिंग मोड, स्ट्यान्ड सेन्सर जस्ता फिचर यसमा छन् ।

एमटी १५ भीटुमा पनि सबै लाइट एलइडी छन् । यामाहा वाइ कनेक्ट सिस्टम, भीभीए टेक्नोलाजी, ट्रयाक्सन कन्ट्रोल, मल्टि फंगसन नेगेटिभ मिटर, साइड स्ट्यान्ड कटअफ स्वीच पाउन सकिन्छ ।

सस्पेन्सन र टायर

एनएसको फ्रन्टमा यूएसडी फर्क र रियरमा प्रिलोड एड्जस्टेबल मोनोशक सस्पेन्सन छ । एमटी-१५ को फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मोनोसक सस्पेन्सन सेटअप दिइएको छ ।

एमटीमा सिंगल च्यानल एबीएस र एनएसमा डबल च्यानल एबीएस छ । डबल डिस्क ब्रेक, अलोय ह्वील र ट्युबलेस टायर दुबैमा छन् ।

अन्त्यमा दुई मोटरसाइकललाई एक ठाँउमा राखेर दाँज्दा पावर, पर्फमेन्स, फिचर र मूल्यका हिसाबले बजाज एनएस ४०० जेड एमटी-१५ भन्दा ‘भ्यालू फर मनी’ देखिन्छ भने यामाहा जापानीज टेक्नोलोजी हो ।


Back_to_top