भारतमा टाटा र महिन्द्राको बीच कडा टक्कर, टप तीन ब्राण्डको बिक्री घट्यो

काठमाडौं । भारतीय बजारमा महिन्द्राले आफ्नो दबदबा बढाउँदै लगेको छ । दुई वर्ष अगाडिसम्म मासिक १५ देखि २० हजार यूनिट कार उत्पादन र बिक्री गर्दै आएको महिन्द्रा पछिल्लो वर्षदेखि ४० हजार यूनिट माथि बिक्री गर्न सफल हुँदै आएको छ ।

अघिल्ला महिनाहरुमा महिन्द्राको भन्दा ४ देखि ५ हजार यूनिट कार धेरै बिक्री गर्दै आएको टाटालाई यसपटक महिन्द्राले कडा टक्कर दिएको छ । सन् २०२४ अगष्ट महिनाको बिक्री तथ्यांक अनुसार टाटाले ४४ हजार १४२ यूनिट कार होलसेल बिक्री गर्दा महिन्द्राले ४३ हजार २७७ यूनिट कार बिक्री गरेको हो । यी दुई कम्पनीको बिक्रीमा केबल ८६५ यूनिटको मात्रै फरक छ ।

यी दुई भारतीय ब्राण्डको सफलता र प्रतिस्पर्धा अन्य ब्राण्डहरुको लागि भने कडा चुनौति बन्दै आएको छ । अगष्टमा मारुती सुजुकीले १ लाख ४३ हजार ७५ यूनिट बिक्री गर्दै पहिलो स्थानमा रहँदा हुन्डाईले ४९ हजार ५२५ यूनिट कार बिक्री गरेको छ । यी दुबै कम्पनीको बिक्री अघिल्लो अगष्टको तुलनामा ८ प्रतिशतले घटेको हो । टाटाको बिक्रीमा ३ प्रतिशतले गिरावट आउँदा महिन्द्राले भने १६.१ प्रतिशतले बिक्री बढाएको छ ।

टोयोटाले पनि निकै राम्रो बिक्री पाउन सफल भएको छ । कम्पनीले अघिल्लो वर्षको अगष्टको तुलनामा ३६.३ प्रतिशतले बिक्री बढाएर २८ हजार ५८९ यूनिट कार बिक्री गर्न सफल भएको हो । कियाले पनि १७ प्रतिशतले बिक्री बढाउँदै २२ हजार ५२३ यूनिट कार बिक्री गरेको छ ।

अन्य बिक्री बढाउने कम्पनीमा एमजी, सिट्रोन र जीप छन् । यी कम्पनीले क्रमशः ९.२, १२१.४ र १३.७ प्रतिशतले आफ्नो बिक्री बढाएका हुन् ।

स्कोडाले सबैभन्दा धेरै ३५ प्रतिशत बिक्री गुमाउँदा होन्डाले ३२.४ प्रतिशत र रेनोले १६.९ प्रतिशतले बिक्री गुमाएका हुन् । फक्सवागेनको बिक्री १४.३ प्रतिशतले घट्दा समग्र बजार भने १.७ प्रतिशतले घटेको हो ।

यदि जुलाई महिनासँग अगष्टको बिक्री तुलना गर्ने हो भने टाटाले १.३ र टोयोटाले ३.२ प्रतिशतले बजार गुमाएका छन् । अन्य सबै ब्राण्डको उत्पादन र बिक्री बढेको हो ।


Back_to_top