आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी

रियाद । साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । 

शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ । 

महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो । 

साउदी अरबमा पनि महिलाहरुलाई सवारी साधन लगाउन पाउने व्यवस्थालाई धेरैले एउटा महत्वपूर्ण घटनाको रुपमा लिएका छन् । 

साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीबादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताएका थिए । 

सवारी साधन चलाउने अनुमती पाएसँगै राजधानी रियाद सहितका प्रमुख शहरहरुमा महिलाहरुले विहानैदेखि सवारी साधन चलाउन थालेका छन् । 

‘मलाई यो दिन आउछ भन्ने पहिले नै थाहा थियो, तर सोचेभन्दा केही चाँडो आयो,’ एकजना कार्यक्रम सञ्चालक तथा लेखक समर अल्मोग्रेनले भने । 

उनको थप भनाई थियो- मैले यो व्यवस्थासँगै आकाशमा उड्ने चराजस्तै निकै ठूलो स्वतन्त्रताको महसुस गरेको छु । 

झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ । यहाँ यसै महिनाको शुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो । 

महिलालाई सवारी चलाउन दिने घोषणा भने अघिल्लो सेप्टेम्बर महिनामा नै गरिएको थियो । त्यसपछि यहाँका महिलालाई सवारी अनुमतिपत्रका लागि तालिम दिने क्रम शुरु गरिएको थियो । 

महिलाहरूले सवारी साधन चलाउन पाउनुपर्ने मागसहित अधिकारवादीहरूले लामो समयदेखि साउदीमा अभियान चलाइरहेका थिए ।

अनुमती नभएको समयमा पनि महिलाले सवारी चलाएको भन्दै सन् १९९० मा साउदी अरेबियाको शहर रियादबाट दर्जनौँ महिला पक्राउ परेका थिए । 

साउदीको विद्यमान कानूनअनुसार यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानूनमा संशोधनगरी युवराजले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् । 

नयाँ अधिकार पाएसँगै कैयौँ महिलाले सवारी साधन चलाउने तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ । 

संयुक्तराज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् । 

उनीहरुले राजाको यो कदमले साउदी अरेबियाका महिलाले केही मात्रामा भए पनि अधिकार प्राप्त गरेका तर्क दिएका पनि विश्वका विभिन्न देशका महिला अधिकारकर्मी तथा संघसंस्थाहरुले जनाएका छन् । 


Back_to_top