काठमाडौं । सेडान कार कुनै समय धेरै मानिसको पहिलो रोजाईमा पर्थ्याे । टोयोटा कोरोला, निसान सन्नी, मारुती सुजुकी स्वीफ्ट डिजायर, हुन्डाई एक्सेन्ट जस्ता सेडान कार नेपाली सडकमा बाक्लै गुडिरहेका भेटिन्छन् ।
तर, अब समय फेरिएको छ । मानिसको रोजाईमा सेडान कारले कम प्राथमिकता पाउन थालेको छ । यसलाई चालु आर्थिक वर्षको ६ महिनामा आयात भएका गाडीको तथ्यांकले पनि पुष्टी गर्छ ।
चालु आर्थिक वर्षको ६ महिनामा कुल २१० यूनिट सेडान कार नेपाल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभिन्न कम्पनीले आयात गर्ने १४ मोडलका सेडान कारको कुल आयात ६ महिनामा २१० यूनिट मात्रै हुनुले यसको खस्कदो लोकप्रियतालाई देखाउँछ ।

साउनदेखि पुस मसान्तसम्ममा सवैभन्दा धेरै आयात स्कोडाले गरेको छ । स्कोडाको र्यापीड सेडान टीएसआई इन्जिनसहित आएकाले यसको लोकप्रियता बढेको अनुमान गर्न सकिन्छ । कम्पनीले साउनमा १२, भदौमा १०, असोजमा २६, कार्तिकमा ८, मंसिरमा ११ र पुसमा ९ यूनिट आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यसरी चालु आर्थिक वर्षको छ महिनामा स्कोडा र्यापीड ७६ यूनिट आयात भएको छ ।
दोस्रो स्थानमा हुन्डाई अउरा परेको छ । हुन्डाईले एक्सेन्टलाई बन्द गरेर ल्याएको नयाँ मोडल अउरा उत्कृष्ट डिजाइन र लग्जरी फिचरका कारण चर्चित सेडान कार भएको हो । यद्यपी यसको विक्री पनि खासै जम्न सकेको छैन । कम्पनीले साउनमा ९, भदौमा ५, असोजमा २४, कार्तिकमा २, मंसिरमा शून्य र पुसमा १० यूनिट आयात गरेका देखिन्छ । कम्पनीले यो ६ महिनामा ५० यूनिट अउरा नेपाल ल्याएको छ ।
धेरै आयात भएको सूचीमा टाटा टिगोर तेस्रो स्थानमा परेको छ । कम्पनीले विगत ६ महिनामा ४२ यूनिट डिजायर नेपाल ल्याएको छ । कम्पनीले साउनमा १३, भदौमा शून्य, असोजमा १२, कार्तिकमा १, मंसिरमा शून्य र पुसमा १६ यूनिट आयात गरेको छ ।
यी तीन मोडल बाहेक अन्य कुनैपनि मोडलको आयात चालु आर्थिक वर्षको ६ महिनामा दोहोरो अंकमा छैन । फक्सवागन भेन्टो ९ यूनिट, हुन्डाई भर्ना ७ यूनिट, प्रोटोन सागा ६ यूनिट, फोर्ड फिएस्टा ५ यूनिट, सुजुकी स्विफ्ट डिजायर ५ यूनिट, फोर्ड एस्पायर २ यूनिट, होन्डा अमेज ५ यूनिट, होन्डा सिटी २ यूनिट, किया सेराटो १ यूनिट र हुन्डाई एक्सेन्ट १ यूनिट आयात भएको छ ।


