काठमाडौं । नेपालमा त्यति राम्रो व्यापार गर्न नसकेपनि सेग्मेन्टमा नै उत्कृष्ट फिचर र सर्वाधिक सुरक्षीत महिन्द्राको सब फोर मिटर एसयूभी अब अटोमेटिक गियरबक्समा पनि उपलब्ध हुने भएको छ । महिन्द्राले यसको अटोमेटिक भर्सन भारतमा सार्वजनिक गरेसँगै केहि समयपछि नेपाल पनि आउने छ ।
महिन्द्रा एक्सयूभी ३०० निकै उत्कृष्ट फिचर, डिजाइन र सुरक्षीत एसयूभी हो । तर, पनि प्रतिस्पर्धीको तुलनामा महंगो मूल्यको कारण नेपालमा यसले सोचेजस्तो व्यापार गर्न सकिरहेको छैन ।
महिन्द्राले एक्सयूभी ३०० मा दिएको १.५ लिटर डिजेल र १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा ६ स्पीड एएमटी गियरबक्स दिएको हो । कम्पनीले एक्सयूभी ३०० को डब्ल्यू ६ र डब्ल्यू ८ भेरियन्टमा एएमटी गियरबक्स दिएको छ ।
कम्पनीले यसअघिको तुलनामा अटोमेटिक इन्जिनसतिहको गाडीमा केहि फिचर थप गरेको छ । जसमा क्रिप फङ्सन, एडप्टेड प्याडल रेस्पोन्स, ट्याप टु स्वीच, हिल होल्ड एसिस्ट नयाँ थप गरिएका फिचर हुन् ।
कम्पनीले यसको टप भेरियन्टमा महिन्द्राको नयाँ व्ल्यू सेन्स प्लस कनेक्ट टेक्नोलोजीको प्रयोग गरेको छ । यो सिस्टमले रिमोटबाटै गाडीलाई कन्ट्रोल गर्न सकिन्छ । गाडी रहेको स्थान पत्तालगाउने, सुरक्षा सम्बन्धी जानकारी दिने, गाडीको अवस्थाको विषयमा सजग गराउने लगायतका ४० भन्दा धेरै फिचर यसमा उपलब्ध रहने छ ।

