अत्यावश्यक सेवामा हिडेकालाई काममा पुग्न कठिन, व्यवसायी भन्छन् कसरी सर्भिस सेन्टर चलाउनु

काठमाडौं । सरकारले ४२ प्रकारका उद्योगहरु संचालन गर्न दिने निर्णय गरेसँगै आफ्ना काममा फर्केका मजदुरहरुले सहजै गन्तव्यमा पुग्न नपाएको गुनासो आएको छ । उपत्यकामा आजबाट खोल्न लागिएका कार तथा मोटरसाइलका सर्भिस सेन्टमा काम गर्न घरबाट निस्किएका मेकानिक्स र इन्जिनियरहरुलाई बीच बाटोमा रोकिएको व्यवसायीहरुले बताएका छन् ।

‘हामीले आजबाट अत्यावस्यक सेवामा प्रयोग भएका सवारीसाधनलाई सर्भिस दिने उद्देश्यले केही सर्भिस सेन्टर संचालन गर्न खोजेका थियौ । त्यसको लागि कर्मचारी आउन लाग्दा बाटोमा अनावश्यक हैरानी खेप्नु परेको छ’, एक व्यवसायीले मेरोअटोसँग भने ।

ती व्यवसायीका कम्पनीको आइडी कार्ड लगाएर आफ्नो साधनमा आएका कामदारलाई प्रहरीले बीचबाटमा रोक्दा सरकारले नै संचालन गर भनेको व्यवसायपनि खोल्न सकिने अवस्था नरहेको उनले बताए ।

सर्भिस सेन्टरसँगै पार्टस पसलपनि खोल्नु पर्ने अवस्था रहेको अहिलेको अवस्थामा यसरी काममा जानलागेका कामदार रोकिने हो भने तत्काल सर्भिस सेन्टरपनि चलाउन नसकिने उनको भनाई छ ।

उता जिल्ला प्रसाशन कार्यालयले भने आज पहिलो दिन भएकाले सुरक्षा निकायले केही कतै सोधपुछको लागि रोकेको हुन सक्छ । तर, विस्तारै सरकारले खोल्न भनेका उद्योग व्यवसाय संचालनमा आउने जानकारी दिएको छ ।

‘आज पहिलो दिन भएकाले केही अन्योलता हुन सक्छ, हामीले सुरक्षा निकायलाई यस्ता अत्यावस्यक सेवामा जान लागेका मानिसलाई सहयोग गर्न भनिसकेका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले भने ।

आजबाट सरकारले सर्भिस सेन्टर, स्पेयर पार्टस लगायत सवारीसाधन सम्बद्ध क्षेत्रहरु आवश्यक पूर्व तयारीका साथ खोल्न दिने निर्णय गरेको थियो ।


Back_to_top