काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । गए राति आएको भीषण बाढीले पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ ।
बाढीले जाँचपासका लागि भन्सार यार्डमा राखेका केही विद्युतीय सवारी साधन र मालबाहक कन्टेनर पनि बगाएको छ । कति गाडी बगायो भन्ने एकिन भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
रसुवागढी भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलले बाढीले भन्सार यार्डमा राखिका कन्टेनर र विद्युतीय सवारी साधन समेत बताएको बताए । कति संख्या बगायो भन्ने एकिन हुन नसकेको उनले बताए ।
‘राति साढे ३ बजेतिर आएको बाढीले विध्वंश मच्चाएको छ । नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ । भन्सार यार्डमा पूर्ण क्षति पुगेको छ । यार्डमा राखिएका कन्टेनर, भन्सार जाँचपास भएका गाडी, जाँचपास हुन बाँकी गाडी समेत बगाएको छ,’ उनले मेरोअटोसँग भने, ‘कति संख्यामा सवारी बगायो भन्ने एकिन हुन सकेको छैन । तत्कालै एकिन गर्न सक्ने अवस्था पनि छैन ।’

भन्सार यार्डमा ४०/५० संख्यामा कन्टेनर रहेको उनको अनुमान छ । विद्युतीय गाडी कति थिए भन्ने खुलेको छैन । बाढी आएको सूचनापछि भन्सार यार्डबाट केही गाडी झिकिएको थियो । सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति पुगेको उनले बताए ।
त्यस्तै, बाढीले रसुवागढी हाइड्रोपावरमा पनि पूर्ण क्षति पुर्याएको छ । बाढीले मानवीय क्षति पनि भएको आशंका गरिए पनि हालसम्म एकिन हुन सकेको छैन ।
क्षतिको थप विवरण आउन बाँकी छ ।

