सिद्धार्थ राजमार्गको दुरी ४५ किमी छोटिने, ‘भायडक्ट’ पुल निर्माण गरिने

सांकेतिक तस्बिर ।

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सिद्धार्थ राजमार्गको दुरी ४५ किलोमिटर छोटिने भएको छ । वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार हाल यस सडकको कुल लम्बाइ १५७ किलोमिटर रहेको छ । अब स्तरोन्नति गर्दा दुरी घटेर ११२ किलोमिटरमा झर्नेछ ।

सडकको दुरी छोट्याउन उक्त राजमार्गमा सुरुङमार्ग, केही ठाउँमा नयाँ सडक, भायडक्ट पुल लगायत निर्माण गरिने उल्लेख गरिएको छ । अध्ययन अनुसार २३ किलोमिटर सुरुङ मार्ग, २.९५ किलोमिटर भायडक्ट पुल, ०.८६ किलोमिटर पुल, ११.७ किलोमिटर नयाँ सडक र ७४ किलोमिटर स्तरोन्नति गर्ने योजना छ ।

अहिले सिद्धार्थ राजमार्ग हुँदै पोखरा बुटवल यात्रा गर्न करिब ६ घण्टा लाग्छ । तर, स्तरोन्नतिपछि यात्रा समय साढे २ घण्टामा झर्ने अध्ययनले देखाएको छ ।

१५७ किमी सडक स्तरोन्नति गर्न १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको हो । उक्त सडकको अल्पकालीन र दीर्घकालीन सुधारका लागि प्रस्ताव गरिएको छ ।

आयोजनाको अल्पकालीन सुधार अन्तर्गत सडक निर्माणमा १० अर्ब ३८ करोड ७० लाख र दीर्घकालीन विकल्प (भायाडक्ट, सुरुङ)को ९ अर्ब ३७ करोड २० लाख लाग्ने अनुमान गरिएके छ ।

अल्पकालीन सुधारअन्तर्गत विकल्पका रूपमा सडकखण्डलाई सबै मौसममा सुचारु रहने डबल बिटुमिनको सर्फेस टिट्रमेन्ट मापदण्डअनुसार स्तरोन्नति र पुलहरूको मर्मत-सम्भार गरिने भएको छ ।

सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले चासो देखाएको छ । २०२८ सालमा निर्माण सकिएको उक्त सडक ५४ वर्षपछि स्तरोन्नति गर्न लागिएको हो । हाल साढे ५ मिटरदेखि ६ मिटर चौडाइ रहेको यस सडकलाई अब कम्तीमा ७ मिटर क्यारिजवे विथ, सडकको दुवैतर्फ १.५/१.५ मिटरको सोल्डर विथसहित १० मिटर फराकिलो बनाउने प्रस्ताव गरिएको छ । साथै, १ मिटरको नाला पनि बनाइने छ । आयोजनाको निर्माण अवधि ४ वर्ष रहेको छ ।


Back_to_top