काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ५ हजार ४८० युनिट विद्युतीय चार पाङ्ग्रे सवारीसाधन आयात भएको भन्सार तथ्यांकले देखाएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ५ हजार ४८० युनिट विद्युतीय कारहरु आयात भएका हुन् । उक्त आयातबाट सरकारले ८ अर्ब १६ करोड रुपैयाँ भन्सार बिन्दुमा राजश्व संकलन गरेको छ ।
दशैं, तिहार जस्ता ठूला चाडपर्व सकिएपछि पनि गाडीको आयात निकै राम्रो देखिएको छ । पुस महिनामा ७८३ युनिट विद्युतीय चार पाङ्ग्रे साधन आयात भएको छ । मंसिरसम्म ४ हजार ६९७ युनिट आयात भएकोमा पुसको आयात जोड्दा ५ हजार ४८० युनिट पुगेको हो ।
साउनदेखि पुस मसान्तसम्ममा ५० किलोवाटभन्दा कम क्षमताका १ हजार ७२५ युनिट गाडी आयात हुँदा ५१ किलोवाटदेखि १०० किलोवाटभन्दा कम क्षमताका ३ हजार १९१ युनिट आयात भएको छ । यी दुबै सेग्मेन्ट नेपालमा निकै राम्रो संख्यामा बिक्री हुँदै आएका छन् ।
१०१ किलोवाट माथि २०० किलोवाटसम्मको सेग्मेन्टमा पनि ठूलो संख्यामा गाडी आयात भएको छ । छ महिनामा उक्त सेग्मेन्टमा ५५३ युनिट आयात भएको हो।
२०० किलोवाट माथि ११ युनिट मात्रै कार आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।


