एवोन भीको मूल्य ६४ लाख ९९ हजार, फ्रिजदेखि मसाज सिट पाइने

काठमाडौं । सिजी मोटर्सले ‘जीएसी एवोन-भी’को बिक्री सुरु गरेको छ । हिजो साँझ काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर एवोन-भीको बिक्री सुरु गरिएको हो ।

विभिन्न दुई भेरियन्टमा बिक्री सुरु भएको एवोन भीमा सेग्मेन्टमै अब्बल फिचरहरु रहेका छन् । एवोन-भीको ६२ किलोवाट आवर क्षमताको ब्याट्री  भर्सनको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ । यही ब्याट्री सेग्मेन्टमा थुप्रै प्रतिस्पर्धी छन् ।

त्यसैगरी ७५ किलोवाट आवरको ब्याट्री रहेको लङ रेन्ज भर्सनको मूल्य ६९ लाख ९९ हजार तोकिएको छ । एनइडीसीले ६५० किलोमिटरसम्म रेन्ज दिने प्रमाणित गरेको छ । नेपालको जस्तो सुकै बाटोमा पनि सर्ट रेन्ज मोडलले ४ सय र लङ रेन्ज मोडलले ५ सय किलोमिटर माथि रेन्ज दिने अनुमान छ ।

जीएसीको एवोन-भी आफ्नो डिजाइन, लुक्स र प्रेजेन्टेसनको कारण चर्चा कमाइ रहेको मोडल हो । कम्पनीका अनुसार एवोन-भीमा २३ प्रकारका टेक्नोलोजी फिचर र ८ प्रकारका कोर यूजर भ्यालू पाउन सकिन्छ । सेल्फ इभल्भीङ एआई ककपीट, एडीगो सेन्स, एआई मोडल प्रयोग भएको कारण चालकले धेरै कुरा गाडीको सिस्टमसँग गर्न सक्नेछन् ।

एवोन-भी मोडलमा सेग्मेन्ट फस्ट फिचरको रुपमा मसाज सिट उपलब्ध छ । कम्पनीका अनुसार यसमा आठ प्वइन्ट मसाज सिट दिइएको छ । त्यस्तै सेग्मेन्टमै पहिलो फिचरको रुपमा गाडी भित्र इनब्यूल्ट रेफ्रिजेरेटर समेत पाउन सकिन्छ ।

एवोन-भी मोडललाई कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरेको भएपनि ६० प्रतिशत चार्जिङ टाइम कटौती गर्न सक्षम भएको दावी गरेको छ । अहिले यसमा प्रयोग भएको सिएटीएलको ब्याट्रीलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

नेपाली बजारमा १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध रहेको एवोन-भीको लम्बाइ ४६०५ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस प्रयोग भएको छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।


Back_to_top