फक्सवागेनको ‘इन्डिया २.०’ प्रोजेक्टको जिम्मेवारी स्कोडालाई

जर्मन अटोमोबाइल कम्पनी फक्सवागेन ग्रुपले भारतीय बजारको आफ्नो क्रियाकलापको जिम्मेबारी स्कोडालाई हस्तान्तरण गर्ने घोषणा गरेको छ । 

आफ्नो ‘इन्डिया २.०’ परियोजना अन्तर्गत भविष्यमा भारतमा डिजाइन र उत्पादन हुने आफ्ना सबै मोडेल फक्सवागेन ग्रुपको एमक्युबी प्ल्याटफर्ममा आधारित हुने र स्कोडा अटोले सन् २०२० सम्ममा सब–कम्प्याक्ट एमक्युबी ए० प्ल्याटफर्मको मोडेल सार्वजनिक गरिसक्ने स्कोडा अटोले जारी गरेको वक्तव्यमा उल्लेख छ । 

‘यो परियोजनाको नेतृत्व स्कोडा अटो इन्डियाका म्यानेजिङ डाइरेक्टर गुरप्रताप बोपाराईले गर्नेछन् । भक्सवागन ग्रुपको व्यवस्थापनले स्कोडा टिमको दक्षतामाथि कति धेरै विश्वास गर्छ भन्ने प्रमाण उसको निर्णयले देखाएको छ ।’ स्कोडाका सिइओ बर्नहार्ड मेयरले भने । 

करिब १८ महिनाअघि स्कोडा अटोलाई स्कोडा र भक्सवागन दुवै ब्रान्डका लागि भारतमा उपयुक्त मोडलको विकास गर्ने जिम्मेबारी दिइएको थियो । ‘भारतका लागि सुहाउने नयाँ, प्राविधिक रुपमा उच्चकोटीको उत्पादन विकास गर्ने कार्य तीव्र रुपमा अघि बढिरहेको छ । एओ–आईएन प्ल्याटफर्मको पहिलो स्कोडा मोडेल सन् २०२० मा सार्वजनिक हुनेछ,’ वक्तव्यमा भनिएको छ । 

‘भक्सवागनसँग डेढ वर्षदेखि जारी गहन कार्यबाट भारतीय बजारमा सहि गाडी सहि समयमा ल्याउन सक्छौं भन्ने विश्वास हामीमा बढेको छ,’ मेयरले अगाडि भने । कम्पनीका अनुसार अब भारतीय बजारका लागि स्कोडा र भक्सवागन दुवै ब्रान्डको गाडीको डिजाइन र उत्पादनको जिम्मेबारी स्कोडा अटोले लिनेछ । तथापी पोलो र भेन्टोको उत्पादन जिम्मेबारी भने फक्सवागेन आफैंसँग हुनेछ । 

गत वर्ष मार्चमा फक्सवागेनले सन् २०१९ सम्ममा पहिलो मोडेल सार्वजनिक गर्ने लक्ष्यसहित टाटासँग दीर्घकालीन पार्टनरसिपको घोषणा गरेको थियो तर त्यो सम्भव नभएको भन्दै यसलाई अगस्टमा खारेज गरियो । 

यसै वर्षको सुरुमा भक्सवागन ग्रुपले भारतमा पूर्ण रुपमा नयाँ प्रडक्ट रेन्ज तयार गर्न एक अर्ब युरो लगानी गर्ने बताएको थियो । भारतमा फक्वागेन समूहको अडी, फक्सवागेन र स्कोडा गरी तीन ब्रान्ड छन् । फक्सवागेनसँग अहिले पोलो, एमियो र भेन्टो छ । ऊसँग चकान, पुनेमा वार्षिक दुई लाख कार उत्पादन गर्ने क्षमताको प्लान्ट छ । यहाँबाट स्कोडा र भक्सवागन दुवै ब्रान्डका गाडी उत्पादन हुन्छन् । 


Back_to_top