काठमाडौं । विश्वकै चौथो ठूलो कार बजारमा कम मूल्यको गाडी धेरै बिक्री हुने गरेको छ । त्यसैले जर्मन ब्राण्ड फक्वागन गु्रप अन्तर्गतको स्कोडा अटोले भारतमा कम मूल्यको विद्युतीय कार बनाउने भएको हो ।
स्कोडाले भारतमा नै धेरै पार्टस बनाउने र त्यसको प्रयोगबाट बजेट फ्रेन्डली ईभी बनाउने भएको हो । कम्पनीको नयाँ ईभी सन् २०२७ भित्र भारतमा बिक्री सुरु हुनेछ ।
स्कोडाले ग्लोवल मार्केटमा प्रिमियम सेग्मेन्टमा विद्युतीय कार उत्पादन र बिक्री गर्दै आएको छ । तर, भारतमा कम बजेटमा नै उत्कृष्ट कार चाहिने भएको कारण नयाँ योजना बनाएर काम गर्न लागेको हो । स्कोडा अटो इन्डियाका ब्राण्ड डाइरेक्टर आशिष गुप्ताका अनुसार सन् २०२७÷२८ सम्ममा लोकल सप्लाई बेस र चार्जिङ पूर्वाधार तयार गर्नेगरी काम भइरहेको छ ।
भारतीय बजारलाई अध्ययन गर्दै कम्पनीले लगानी गरिरहेको बताउँदै गुप्ता भन्छन्, ‘सन् २०२८ सम्ममा ईभीको बजार १० देखि १२ प्रतिशत पुग्ने छ । त्यतिवेला स्कोडाले चार नयाँ मोडल ल्याएर १.७ प्रतिशत बजार ओगट्ने लक्ष्य राखेको छ ।’
स्कोडा इन्डियाले सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्ममा ५३ हजार युनिट कार बिक्री गरेको छ । जुन कम्पनीको पछिल्लो मोडल काइल्याकको कारण सम्भव भएको हो ।
भारतको पुणेमा प्रोडक्सन बेस रहेको स्कोडाले नेपाल, मध्य पूर्वी एशिया र अफ्रिकामा समेत भारतमा उत्पादन भएका कार निर्यात गर्दै आएको छ ।

